जनता टाइम्स

२६ मंसिर २०७६, बिहीबार १८:१९

बिशेष दुत भारत पठाउनेबारे सरकारले खोल्यो मुख


काठमाडौं, मंसिर २६ । सरकारले विशेष दूत भारत पठाउने समाचार हल्ला मात्रै भएको प्रष्ट पारेको छ । केही मिडियामा प्रधानमन्त्री केपी शर्मा ओलीको बिशेष दुत बनेर बरिष्ठ नेता माधवकुमार नेपाल जान लागेको समाचार आएपछि सरकारले यस बिषय हल्ला मात्रै भएको बताएको हो ।
मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिन आज आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले मन्त्री बास्कोटाले यस्तो जानकारी दिनुभएको हो । ‘विशेष दूतको बारेमा मैले पनि मिडियाबाटै थाहा पाएँ, सरकारले भोलि पठाउन सक्ला तर अहिले यसबारेमा कुरा भएको छैन, यो कुरा मिडियाबाटै बाहिर आयो र मिडियाबाटै सकियो,’ सञ्चारमन्त्री बाँस्कोटाले भन्नुभयो ।

सीमा विावाद समाधानको विषयमा नेपालले सकेसम्म कोशिष गरिरहेको जानकारी पनि दिनुभयो । भारतर्फ विवादित क्षेत्रको पहिचानको काम तत्काल सुरु भइसकेको र चीनतर्फ समय अनुकुल भएपछि गरिने मन्त्री बाँस्कोटाको भनाई थियो । ‘केहीकेही ठाउँमा नदीले धार फेर्दै जाँदा समस्या उत्पन्न भएको छ, राष्ट्रिय अन्तर्राष्ट्रिय मापदण्डअनुसार काम गर्दै जानुपर्छ, सबैभन्दा पहिले विवादित ठाउँको काम गर्नुपर्छ,’ मन्त्री बाँस्कोटाको भनाई थियो ।

उहाँले नेपालले इतिहासमै पहिलोपटक कुटनीतिक नोट भारतलाई पठाएको समेत स्मरण गर्नुभयो । ‘यसलाई नेपालको फस्ट स्टेप मान्नुपर्छ, भारतीय पक्षलाई सत्यका आधारमा तथ्य प्रमाणित गर्न दिनुपर्छ’, उहाँले भन्नुभयो ।