जनता टाइम्स

२८ चैत्र २०८२, शनिबार ०९:४१

अमेरिकासँग वार्ताका लागि इस्लामाबाद पुगे इरानीउच्च प्रतिनिधिमण्डल


काठमाडौं, चैत २८ । पकिस्तानको पहलमा युद्धबिराम भएसँगै अमेरिकासँग वार्ताका लागि इरानको उच्च अधिकारी संलग्न प्रतिनिधिमण्डल इस्लामाबाद पुगेको छ । इरानी सरकारी मिडियाले जनाएअनुसार, अमेरिकासँग हुने शान्ति वार्ताका लागि इरानी प्रतिनिधिमण्डल इस्लामाबाद पुगेको हो ।

पाकिस्तानको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै इरानी प्रतिनिधिमण्डल इस्लामाबाद आइपुगेको पुष्टि गरेको छ । स्थानीय मिडियाका अनुसार नूर खान विमानस्थलमा इरानी प्रतिनिधिमण्डलको स्वागत गरिएको थियो ।

पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक डारले उनीहरूको स्वागत गर्नुभयो । सो अवसरमा राष्ट्रिय सभाका अध्यक्ष सरदार अयाज सादिक, सेना प्रमुख फील्ड मार्शल सैयद आसिम मुनीर र गृहमन्त्री सैयद मोहसिन रजा नक्वी पनि उपस्थित हुनुहुन्थ्यो ।

इरानको सरकारी टेलिभिजनको टेलिग्राम च्यानलका अनुसार इरानी प्रतिनिधिमण्डलको नेतृत्व संसदका सभामुख मोहम्मद बाकर गालिबाफले गर्नुभएको छ । उहाँसँगै इरानका विदेशमन्त्री अब्बास अराघची, रक्षा परिषदका सचिव अली अकबर अहमदियान, केन्द्रीय बैंकका गभर्नर अब्दुलनासिर हेम्मती तथा ईरानी संसदका अन्य सदस्यहरू सहभागी छन् । इरान र अमेरिकाबीच जारी युद्ध केहीदिनअघि मात्र युद्धबिराम भएको थियो ।