जनता टाइम्स

२७ मंसिर २०७६, शुक्रबार १२:२८

बेलायतमा प्रधानमन्त्री जोनसनको पार्टीले पायो बहुमत


बेलायत, मंसिर २७ । बेलायती प्रधानमन्त्री बोरिस जोनसनको कन्जर्भेटिभ पार्टीले आम चुनावमा बहुमत प्राप्त गरेको छ। कूल ६५० सिटमा बिहीबार भएको आम निर्वाचनको अन्तिम परिणाम सार्वजनिक नहुँदै जोनसनको कन्जर्भेटिभ पार्टीले पार्टीले बहुमत पाएको हो।

६१३ निर्वाचन क्षेत्रको मतगणना भइसक्दा कन्जर्भेटिभ पार्टीले ३५१ क्षेत्रमा जित हासिल गरेको छ। बहुमत प्राप्त गर्नका लागि ३२६ सिट ल्याए हुन्छ । विपक्षी लेबर पार्टीले भने अहिलेसम्म जम्मा २ सय २ क्षेत्रमा मात्रै जित हासिल गरेको छ। कन्जर्भेटिभ पार्टीले अघिल्लो चुनावमा भन्दा ४६ बढी क्षेत्रमा जित हात पारेको छ भने विपक्षी लेबर पार्टीले ५८ सिट गुमाएको छ। अब १९ क्षेत्रको मात्रै मत परिणाम आउन बाँकी रहेको छ।

चुनावमा बहुमत प्राप्त गर्न नसकेपछि लेबर पार्टीका नेता जेरेमी कोर्बिनले अर्को चुनावमा पार्टीको नेतृत्व नगर्ने घोषणा गरेका छन्। पार्टी जिततर्फ उन्मुख हुँदै गर्दा ट्विटरबाट जनाएको आफ्नो पहिलो प्रतिक्रियामा जोनसनले भनेका छन्, ‘हाम्रा महान देशका तपाईंहरु सबैलाई धन्यावाद जसले मतदान गर्नुभयो, पार्टीका लागि काम गर्नुभयो, पार्टीको उम्मेदवार बन्नुभयो। हामी दुनियाँमा सबैभन्दा महान लोकतन्त्रमा रहन्छौं।’

आम चुनावमा पार्टीले बहुमत प्राप्त गरेसँगै अब प्रधानमन्त्री जोनसनलाई ब्रेक्जिटका लागि सजिलो हुने ठानिएको छ। अब उनलाई आफ्नो शर्तअनुसार युरोपेली संघबाट अलग हुन सजिलो हुनेछ। गृहमन्त्री प्रीति पटेलले नयाँ सरकारले ब्रेक्जिट लागू गर्नका लागि तत्काल कदम चाल्ने बताइन्। उनका अनुसार क्रिसमस भन्दा पहिले नै संसदमा त्यससम्बन्धी विधेयक पेस हुने छ। युरोपेली संघसँग सम्झौता गरेर बाहिरिने या नबाहिरिने भन्ने विवादले बेलायतमा राजनीतिक संक्रमण झन् गहिरिएको थियो ।

जोनसन संघसँग सम्झौता बिनै बाहिरिने पक्षमा थिए। तर, उक्त प्रस्तावलाई संसदले अनुमादन नगरेपछि गत अक्टोबरमा उनले तत्काल अर्को आम चुनावको प्रस्ताव लगेका थिए। उनको यो प्रस्तावलाई भने बहुमत सांसदले अनुमोदन गरेका थिए। सामान्यतया प्रत्येक चारदेखि पाँच वर्षमा आम निर्वाचन हुने बेलायतमा यसअघि सन् २०१५ र २०१७ मा पनि निर्वाचन भएको थियो। सन् २०१६ मा जनमत संग्रह गराएर युरोपेली संघबाट बाहिरिने निर्णय गरेको बेलायत राजनीतिक संक्रमणमा फसेको छ। जनमत संग्रहमा ५१.९ प्रतिदश बेलायतीले युरोपेली संघबाट बाहिरिने पक्षमा मत हालेका थिए।