जनता टाइम्स

२७ मंसिर २०७६, शुक्रबार १३:२७

बेलायतमा कन्जरभेटिभ पार्टीले पायो ३२ वर्षकै बढी सिट, लेबर पार्टीलाई ८५ वर्षकै सबैभन्दा कम सिट


लन्डन, मंसिर २७ । बेलायतमा प्रधानमन्त्री बोरिस जोन्सनको कन्जरभेटिभ पार्टीले स्पष्ट बहुमत ल्याएको छ। बिहीबार भएको आमनिर्वाचनमा सो पार्टीले ३२ बर्षमा सवैभन्दा बढीसिट जित्दै बहुमत प्राप्त गरेको हो । बेलायती प्रसारण संस्था (बिबिसी) का अनुसार चुनाव भएका ६ सय ४२ सिटमध्ये प्रधानमन्त्री बोरिस जोन्सनको कन्जरभेटिभ पार्टीले ३५८ सिट जितिसकेको छ। उसले अझै केही सिट जित्ने बताइएको छ। बहुमतका लागि ३२६ सिट भए पुग्छ।

अक्टोबर ३१ सम्म बेलायतलाई युरोपियन युनियन इयूबाट बाहिर निकाल्ने वाचा गरेर प्रधानमन्त्री बनेका जोन्सनले उक्त योजनामा सफलता नपाएपछि चुनाव घोषणा गर्नुभएको थियो । चुनावबाट कन्जरभेटिभ पार्टीलाई ३२ वर्षमै सबैभन्दा बढी सिट हात परेको छ। सन् १९८७मा मार्गेट थ्याचर प्रधानमन्त्री भएपछि कन्जरभेटिभ पार्टीले तल्लो सदनमा यति धेरै सिट जितेको थिएन।

यता प्रतिपक्षी लेबर पार्टीले भने २०३ सिटमात्र हात पारेको छ। आफ्नो परम्परागत प्रभाव क्षेत्रमा पनि हार व्यहोरेको लेबर पार्टीले यसपालि ८५ वर्षकै सबैभन्दा कम सिट पाएको हो। आफ्नो पक्षमा स्पष्ट बहुमत आएपछि प्रधानमन्त्री जोन्सनले बेलायतलाई इयूबाट बाहिरिने स्पष्ट जनादेश प्राप्त भएको बताउनु भएको छ। उहाँले अर्को महिना बेलायत इयूबाट बाहिरिने बताउनु भयो ।