काठमाडौं, बैशाख ७ । बालेन सरकारका गृहमन्त्री सुधन गुरुङले शेयर बिवरण लुकाउनुका साथै स्पष्टिकरणमा पनि ठाडै झुट बोल्नुभएको छ । गृहमन्त्री गुरुङले नेपाली जनताको आँखामा छारो हाल्न भावनात्मक कुरा गरेर हाकाहाकी झुटो बोल्नुभएको हो ।
गृहमन्त्री सुधनले जति सम्पत्ति सार्वजनिक गर्नुभयो, त्यो नै विवादास्पद बनेको बेला अर्काे झुट बोल्नुभएको हो । सयौँ रोपनी जग्गा आफ्नो सम्पत्तिमा देखाउनु भएका सुधनले सुरुमा हदबन्दीभन्दा बढी छ भन्ने हेक्का नै पाउनु भएन ।
हदबन्दीभन्दा बढी जग्गा राज्यले अधिग्रहण गर्नुपर्नेमा त्यो किन भएन भन्ने प्रश्न उठेपछि तिल्मिलाउनु भयो । यस्तै सुधनले सम्पत्तिमा देखाएको ८९ तोला सुन, ६ किलो चाँदी र विभिन्न कम्पनीमा रहेका करोडौंको सेयर खरिदको स्रोतमा पनि गम्भीर प्रश्न उठ्यो । हालसम्म एक पैसा कर नतिर्नुभएका सुधनले त्यत्रो पैसा कहाँबाट कमाए भन्नेप्रश्न उठेकै बेला बिचौलियासँगको साँठगाँठ बाहिर आयो ।
सुधनले बिवरणमा सवै सम्पत्ति व्यवसाय, पैत्रिक सम्पत्ति र लगानीबाट आर्जित भनेर ‘लम्पसम’ (एकमुष्ट) मा लेख्नुभएको छ । तर स्रोत देखिने स्पष्ट विवरण सार्वजनिक गर्नुभएको छैन । दुई वटा माइक्रो इन्स्योरेन्स कम्पनीमा थप ५० लाख रुपैयाँका ५० हजार कित्ता संस्थापक सेयर खरिद गरेको पनि खुलेको छ । त्यसलाई सुधनले सम्पत्ति विवरणमा उल्लेख गर्नुभएकै छैन । आफैले सार्वजनिक गरेको बिवरणमा नदेखाएकोले यो शेयर सिधै कालो धन हो भन्ने प्रष्ट हुन्छ ।
सार्वजनिक ओहदामा भएका गृहमन्त्री गुरुङले लिबर्टी माइक्रोलाइफ इन्स्योरेन्समा भएको २५ हजार कित्ता र स्टार माइक्रोइन्स्योरेन्स कम्पनीको २५ हजार कित्ता सेयर आफ्नो सम्पत्ति विवरणमा उल्लेख नगर्नुले नियतदेखि कानूनी कानुनी प्रश्न उठेका छन् ।
गृहमन्त्री गुरुङले सार्वजनिक गरेको सम्पत्ति विवरणमा २ करोड ७४ लाख रुपैयाँ बराबरको लगानी धितोपत्रको दोस्रो बजारमा कारोबार हुने कम्पनीको सेयर रहेको उल्लेख गर्नुभएको छ । ती सेयर कुन कम्पनीका हुन् भन्ने उल्लेख नै गर्नुभएको छैन ।
कुनै सम्पत्ति वा सेयर किन्नु, त्यसको स्वामित्व धारण गर्नु वा बेच्नु आफैंमा गैरकानुनी होइन । तर ती सम्पत्ति किन्दा, स्वामित्वमा राख्दा वा बिक्री गर्दा कानुनी प्रक्रिया पूरा गरिएको छ कि छैन, त्यो सम्पत्ति किन्ने स्रोत कानुनी हो कि होइन भन्ने चाहिँ मुख्य बिषय हो । सार्वजनिक पदमा रहेका व्यक्तिले कानुनतः घोषणा गर्नुपर्ने थियो । तर सुधनले गर्नुभएन ।
सुधन मन्त्री पदमा बस्न योग्य छैनन भन्ने यस घटनाले प्रष्टै देखाएको छ । पहिलो, गुरुङले गृहमन्त्री पद सम्हालेपछि दायर गरेको सम्पत्ति विवरणमा यी सेयर सम्पत्ति उल्लेख गर्नुभएको छैन । कानुनी रूपमा यस्तो खुलासा हुनुपर्ने थियो । उहाँले लगुम प्रिमियम अपार्टमेन्ट्समा ५७ हजारकित्ता, होप होल्डिङ्समा ३० हजार र एडभेन्चर भिल्ला प्रालिमा ७० हजार कित्ता संस्थापक सेयर रहेको विवरणमा खुलाउनु भएको छ ।
तर, लिबर्टी माइक्रोलाइफ र स्टार माइक्रोइन्स्योरेन्सको संस्थापक सेयर विवरण लुकाउनु भएको पाइएको हो । कम्पनी रजिस्ट्रारको कार्यालयको विवरणअनुसार गुरुङका नाममा लिबर्टी र स्टार माइक्रोइन्स्योरेन्सको २५–२५ हजार कित्ता संस्थापक सेयर छ । उक्त सेयर अंकित मूल्य १०० रुपैयाँ रहेको पनि सोही विवरणमा देखिन्छ । तर गुरुङले अफ्नो सम्पत्ति विवरणमा भने कम्पनीको नाम उल्लेख गर्नुभएको छैन ।
स्पष्टीकरणमा पनि झुट
दुई माइक्रोइन्स्योरेन्समा गरेको लगानीबारे प्रश्न उठेपछि गुरुङले सामाजिक सञ्जालबाट प्रतिक्रिया दिँदै आफूले ऋण लिएर सेयर किनेको दावी गर्नुभएको छ । धितोपत्र बजारमा कारोबार हुने सेयर २ करोडभन्दा बढीको रहेको विवरणमा उल्लेख गरेको र दुई माइक्रोफाइनान्सको सेयर पनि त्यसैमा पर्ने दाबी गुरुङकोछ ।
तर, उहाँले सम्पत्ति विवरणमा उल्लेख गरेको विषय र स्पष्टीकरण दिएको विषय ठ्याक्कै फरक परेको छ । सुधनले २ करोड ७४ लाख ५६ हजार २०० रुपैयाँ बराबरको धितोपत्र बजारमा कारोबार हुने सेयर रहेको सम्पत्ति विवरणमा देखाउनु भएको छ । त्यो रकमको स्रोत व्यवसाय, पैत्रिक सम्पत्ति र लगानी रहेको उल्लेख छ ।
तर सोमवार सामाजिक सञ्जालमा स्पष्टीकरण दिने क्रममा सुधनले त्यो सेयर किन्ने स्रोत ऋण भएको दाबी गर्नुभएको छ । ‘मैले लगानी गरेको रकम ऋण (कर्जा) मार्फत जुटाइएको हो र त्यसको लिखित तमसुक मिति २०८०–०५–२९ को हो, जुन रेकर्डमा नै छ,’ गुरुङको दावी छ, ‘उक्त तमसुकअनुसार ऋण लिइएको रकम बैंकिङ च्यानलमार्फत आएको छ र सोही रकम लगानीमा प्रयोग गरिएको हो ।’
अर्कातिर, धितोपत्र बजारमा कारोबार हुने सेयरमा दुई माइक्रोइन्स्योरेन्सको सेयरसमेत रहेको गुरुङको दाबी पनि झुटो देखिएको छ । गुरुङले धितोपत्र बजारमा कारोबार हुने सेयरमै यी दुई कम्पनीको सेयर पनि समावेश रहेको उल्लेख गर्नुभएको छ ।
‘मैले धितोपत्र बजारमा कारोबार हुने सेयरहरू भनेर २ करोडभन्दा बढी लगानी सम्पत्ति विवरणमै स्पष्ट उल्लेख गरेको छु, जुन जो कोहीले मन्त्रिपरिषद्को वेबसाइटमा हेर्न सक्नुहुन्छ, स्टार माइक्रोइन्स्योरेन्स र लिबर्टी माइक्रोमा भएको लगानी पनि यही समूहभित्र समेटिएको हो, यो लुकाउने होइन, वर्गीकरणको विषय हो,’ सुधनको दावी छ ।
तर, यथार्थ भने भिन्न छ । लिबर्टी माइक्रोलाइफ इन्स्योरेन्स कम्पनी र स्टार माइक्रोइन्स्योरेन्स दुवै कम्पनी अहिलेसम्म आईपीओमा गएकै छैनन् । आईपीओमा जाँदै नगएका कम्पनीको सेयर धितोपत्र बजारमा कारोबार नै हुँदैन । यसरी नेपाल स्टक एक्स्चेन्जमा सूचीकृत नै नभएका सेयर पनि धितोपत्र बजारमा कारोबार सेयर रहेको भनेर गृहमन्त्री सुधनले हाकाहाकी झुट बोल्नुभएको हो ।













प्रतिक्रिया दिनुहोस्