जनता टाइम्स

८ बैशाख २०८३, मंगलवार १७:०९

अर्थमन्त्री स्वर्णिमसँग अमेरिकी सहायक विदेशमन्त्रीको भेटवार्ता, नेपालको विकासमा सघाउने दुई विषय बन्यो मुख्य एजेण्डा


काठमाडौं, वैशाख ८ । नेपाल भ्रमणमा रहनुभएका अमेरिकी दक्षिण तथा मध्य एसियाली मामिला सहायक मन्त्री एस पल कपुरले अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेसँग भेटवार्ता गर्नुभएको छ । अर्थ मन्त्रालयमा मंगलबार दिउसो उहाँहरूबिच भेटवार्ता भएको हो ।

भेटमा आर्थिक सहकार्यका विषयमा केन्द्रित रहेको अर्थ मन्त्रालयले जनाएको छ । उक्त भेटमा नेपालस्थित अमेरिकी दूतावास, परराष्ट्र मन्त्रालयकाका प्रतिनिधिलगायतको उपस्थिति थिए । तीन दिने नेपाल भ्रमणमा रहनु भएका अमेरिकी दक्षिण तथा मध्य एसियाली मामिला सहायक मन्त्री कपुरले मंगलबार नै परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गर्नुभएको छ ।

भेटका क्रममा नेपालमा व्यापार र लगानी बढाउने विषयमा थप ध्यान केन्द्रित गर्नेबारे छलफल भएको थियो । परराष्ट्र मन्त्रालयका अनुसार सिंहदरबारमा भएको भेटमा नेपा नेपाल–अमेरिका द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा पनि कुरा भएको छ ।

कपुर बालेन सरकार बनेपछि नेपाल भ्रमण गर्ने उच्चतहका पहिलो कूटनीतिज्ञ हुनुहुन्छ । उहाँको सोमबारबाट सुरु भएको भ्रमणलाई नयाँ सरकार र सरकारको नेतृत्व गर्ने रास्वपासँगको सम्बन्धलाई विस्तार गर्ने योजना अन्तर्गतको भ्रमणको रूपमा पनि यसलाई हेरिएको छ ।

 

कपुरले सोमबार सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेसँग भेट गर्नुभएको थियो । भेटमा कपुरले अमेरिका र नेपाल सहकार्यका क्षेत्रबारे कुरा गरेको जानकारी दिनुभएको छ । ‘काठमाडौंमासँग भेट्न पाउँदा खुसी लाग्यो। नयाँ सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्राथमिकताहरू बुझ्ने र अमेरिका-नेपाल सहकार्यका क्षेत्रहरूबारे छलफल गर्ने अवसर मिल्यो’ रविसँगको भेटपछि कपुरको भनाई थियो ।

यस्तै कपुरले सोमबार दिउँसो अमेरिकी उद्योग प्रमुखहरूसँग नेपालको आइसिटी क्षेत्रमा अमेरिकी व्यापारिक अवसर विस्तार गर्ने विषयमा छलफल गर्नुभएको थियो । छलफलमा डिजिटल पूर्वाधार सुदृढ बनाउने,एआईको प्रयोग बढाउने, साइबर सुरक्षा मजबुत पार्ने, र अमेरिकी प्रविधिगत दक्षता आदानप्रदान गर्ने उपायहरूबारे कुराकानी भएको दक्षिण तथा मध्य एसिया ब्युरोले जनाएको छ ।

गत वर्ष अक्टोबरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कपुरलाई दक्षिण एसिया मामिला हेर्ने सहायक विदेशमन्त्रीमा नियुक्त गरेका थिए । कपुरअघि डोनाल्ड लुले दक्षिण एसिया मामिला हेर्ने गर्नुभएको थियो ।