काठमाडौं, वैशाख ८ । सरकारले कानून निर्माणलाई प्राथमिकतादेखि नियुक्तिसम्मका पाँच वटा मुख्य निर्णय गरेको छ । प्रधानमन्त्री बालेन्द्र साहको अध्यक्षतामा मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले तीन वटा ऐन संघीय संसदमा पेस गर्न स्वीकृतिसहित एक नियुक्ति र एक सिफारिस समिति गठन गरेको हो ।
बैठकपछि सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनाले दिनुभएको जानकारीअनुसार बैठकले नेपाल विशेष सेवा ऐन, प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन र मतदाता नामावली ऐनलाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ ।
मन्त्री तिमिल्सिनाका अनुसार मन्त्रिपरिषद्ले नेपाल विशेष सेवा ऐन २०४२ संशोधन गर्न बनेको विधेयकलाई संघीय संसदमा पेस गर्न स्वीकृति प्रदान गरेको छ । यस्तै प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ लाई संशोधन गर्न बनेको विधेयक र मतदाता नामावली ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयकलाई संघीय संसदमा पेस गर्न स्वीकृत प्रदान गरेको हो ।
बैठकले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति पनि गठन गरेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाखर भट्टको संयोजकत्वमा गठित सिफारिस समितिमा अर्थ मन्त्रालयका सहसचिव डा. घनश्याम उपाध्याय र बैंकर्स संघका पूर्वअध्यक्ष भुवन दाहाल सदस्य रहनुभएको छ ।

यसैगरी मन्त्रिपरिषद्ले समस्याग्रस्त सहकारी सहकारी व्यवस्थापन समितिका अध्यक्ष पदमा प्युठानका डिल्लीराज आचार्य तथा सदस्यहरूमा धादिङका नवराज सिम्खडा र ललितपुरका रोशनबहादुर शाक्यलाई नियुक्ति र मनोनयन गर्ने निर्णय गरेको मन्त्री तिमिल्सिनाले जानकारी दिनुभयो ।
निर्णय १
नेपाल विशेष सेवा ऐन २०४२ संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति प्रदान गर्ने ।
निर्णय २
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ लाई संशोधन गर्न बनेको विधेयकलाई संघीय संसदमा पेस गर्न स्वीकृति प्रदान गर्ने ।
निर्णय ३
मतदाता नामावली ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति प्रदान गर्ने ।
निर्णय ४
समस्याग्रस्त सहकारी सहकारी व्यवस्थापन समितिका अध्यक्ष पदमा डिल्लीराज आचार्य, प्युठान, नवराज सिम्खडा र रोशनबहादुर शाक्य ललितपुर नियुक्ति र मनोनयन गर्ने ।
निर्णय ५
नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाखर भट्टको संयोजकत्वमा अर्थ मन्त्रालयका सहसचिव डा. घनश्याम उपाध्याय र भुवन दाहाल सदस्य रहने गरी सिफारिस समिति गठन गर्ने ।













प्रतिक्रिया दिनुहोस्