जनता टाइम्स

९ बैशाख २०८३, बुधबार ०८:००

ट्रम्पले थपे युद्धविरामको समय, बिस्तृत शान्ति संझौता हुने विश्वाशमा मध्यस्थकर्ता 


काठमाडौं,  वैशाख  ९। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविरामको अवधि थप गर्ने घोषणा गरेका छन् ।

दुई देशबीचको वार्तामा प्रगति नभएसम्मका लागि यो युद्धविराम लम्ब्याइने उनले बताएका छन् । ट्रम्पले तेहरानले एउटा एकीकृत प्रस्ताव पेस नगरेसम्म इरानी बन्दरगाहहरूको नाकाबन्दी जारी रहने स्पष्ट पारेका छन् । यसअघि यो साता युद्धविरामको म्याद सकिन लागेकाले अमेरिका–इरान वार्ताको भविष्य अन्योलमा रहेको थियो ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा एक पोस्ट गर्दै भनेका छन्, “मैले हाम्रो सेनालाई नाकाबन्दी जारी राख्न र अन्य सबै पक्षबाट तयार र सक्षम रहन निर्देशन दिएको छु । त्यसैले, इरानको प्रस्ताव पेस नभएसम्म र छलफल कुनै न कुनै निष्कर्षमा नपुगेसम्मका लागि युद्धविराम बढाइनेछ ।’

तेहरानले थप वार्ताका लागि आनाकानी गरिरहेका बेला ह्वाइट हाउसले उपराष्ट्रपति जेडी भान्सको इस्लामाबाद भ्रमण रोकेको छ । पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले युद्धविरामको म्याद थप गर्ने आफ्नो अनुरोध स्वीकार गरेकोमा अमेरिकी राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिएका छन् ।

‘मलाई पूर्ण आशा छ कि दुवै पक्षले युद्धविरामको पालना जारी राख्नेछन् र द्वन्द्वको स्थायी अन्त्यका लागि इस्लामाबादमा तय गरिएको दोस्रो चरणको वार्तामा एक विस्तृत शान्ति सम्झौता गर्न सफल हुनेछन,’ सरिफले सामाजिक सञ्जाल ‘एक्स’मा लेखेका छन् ।

सरिफले द्वन्द्वको वार्ताद्वारा समाधान खोज्न आफ्नो सरकारले गम्भीर प्रयास जारी राख्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

यसैबीच, उपराष्ट्रपति जेडी भान्स मंगलबार पूर्वयोजनाअनुसार इस्लामाबाद प्रस्थान गरेनन् । ह्वाइट हाउसले पत्रकारहरूलाई दिएको जानकारीअनुसार, उनी अहिले वासिङ्टनमै रहनेछन् । उनको पाकिस्तान भ्रमण हाललाई स्थगित गरिएको छ ।

इरानले पनि अमेरिकासँगको वार्ताका लागि पाकिस्तानमा प्रतिनिधिमण्डल पठाउने वा नपठाउने भन्नेबारे अझै निर्णय नगरेको इरानी विदेश मन्त्रालयका प्रवक्ताले बीबीसीलाई बताएका छन् ।