जनता टाइम्स

१३ बैशाख २०८३, आईतवार २२:५२

इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धिले पूर्वाधार क्षेत्रमा ‘सुनामी’, निर्माण व्यवसायीले दिए काम ठप्प हुने चेतावनी


हेटौँडा, वैशाख १३ । वाग्मती प्रदेश निर्माण व्यवसायी महासंघले इन्धन तथा निर्माण सामग्रीमा भइरहेको अत्यधिक मूल्यवृद्धिका कारण निर्माण क्षेत्र गम्भीर संकटमा परेको जनाएको छ। महासंघले आइतबार हेटौँडामा पत्रकार सम्मेलन गर्दै जारी गरेको प्रेस विज्ञप्तिमार्फत यस्तो जनाएको हो।

महासंघका अनुसार मध्यपूर्वमा जारी युद्धको प्रभावका कारण डिजेल, पेट्रोल, मट्टितेल लगायत इन्धनजन्य सामग्रीको मूल्यमा पटक–पटक भएको अप्रत्याशित वृद्धिले निर्माण उद्योग ठप्प हुने अवस्थामा पुगेको छ। इन्धनसँगै बिटुमिन, सिमेन्ट, डण्डी लगायत निर्माण सामग्रीमा समेत मूल्यवृद्धि र अभाव देखिएकाले पूर्वाधार क्षेत्र नै संकटमा परेको महासंघले जनाएको छ।

विज्ञप्तिमा भौतिक पूर्वाधार क्षेत्रमा देखिएको यस्तो अवस्थालाई ‘सुनामी’ को संज्ञा दिँदै यसले मुलुकको समग्र अर्थतन्त्रमा समेत गम्भीर असर पार्न थालेको उल्लेख गरिएको छ। महासंघले समस्या समाधानका लागि नेपाल सरकार तथा सम्बन्धित निकायलाई पटक–पटक ध्यानाकर्षण गराए पनि हालसम्म ठोस पहल नभएको गुनासो गरेको छ।

सरकारले करिब दुई महिनादेखि मौखिक आश्वासन मात्र दिँदै आएको आरोप लगाउँदै महासंघले निर्माण व्यवसायी, श्रमिक र सम्बन्धित उद्योगहरू आर्थिक रूपमा धराशायी हुने अवस्थामा पुगेको जनाएको छ। राष्ट्र बैंकको मूल्य सूचकाङ्कअनुसार हुने ठेक्का मूल्य समायोजन प्रणालीले बजारको वास्तविक मूल्यवृद्धिलाई नसमेट्दा व्यवसायीहरू थप मारमा परेको पनि महासंघको भनाइ छ।

हाल निर्माण कार्य तीव्र गतिमा सञ्चालन हुनुपर्ने समयमा सामग्री अभाव र मूल्यवृद्धिका कारण निर्माणाधीन आयोजनाहरूको भविष्य नै अन्योलमा परेको महासंघले जनाएको छ। राष्ट्रिय गौरवका आयोजनादेखि साना–ठूला परियोजनासम्मको काम प्रभावित भई अधिकांश स्थानमा निर्माण कार्य ठप्प जस्तै भएको उल्लेख गरिएको छ।

महासंघले तत्काल मूल्य समायोजनसम्बन्धी मार्गनिर्देशिका जारी गर्न, सबै अवधिका ठेक्कामा मूल्य समायोजन लागू गर्न तथा निर्माण व्यवसायीहरूलाई राहत दिन सरकारसँग माग गरेको छ।