काठमाडौं, बैशाख २० । अनामनगरस्थित रुद्रमती (धोबीखोला) किनारमा रहेको विवादास्पद ७ तले भवनमा डोजर चलाइएको छ। संघीय सरकारले काठमाडौँ महानगरपालिकासँगको समन्वयमा आइतबार बिहानै डोजर चलाएको हो ।
घरधनी इन्द्र चाम्लिङले घर आोूले करिब ५ वर्षअघि निर्माण सम्पन्न गरेको बताउनु भयो । चाम्लिङले भवनको नक्सा पास भएको र आफूले नियमित रूपमा कर तथा राजस्व तिर्दै आएको जानकारीसमेत दिनुभयो । ‘वडा कार्यालयबाट नक्सा पास गराएर सबै प्रक्रिया पुर्याएर बनाएको घरमा आज अचानक डोजर चल्नुले मलाई अचम्मित बनाएको छ,’ ण्घरधनी चाम्लिङले भन्नुभयो । उहाँले आफ्नो घरमा भएको क्षतिप्रति चित्त दुखाउँदै प्रशासनको काम गर्ने शैलीमाथि कडा प्रश्न उठाउनु भयो ।
भवन भत्काउने कार्य भइरहँदा चाम्लिङले प्रधानमन्त्री बालेन शाहलाई एक ‘देशभक्त नेता’ को रूपमा स्वीकार गर्नुभयो । बालेनको काम गर्ने जोशको प्रशंसा गरे पनि आफूसँग भेटघाट र छलफलको मौका नदिइएको चाम्लिङको गुनासो छ । ‘हामीले उहाँलाई भेट्न धेरै प्रयास गर्यौँ, तर सफल हुन सकेनौँ। एउटा नागरिकको कुरा सुनिदिएको भए अझ राम्रो हुने थियो।’
चाम्लिङले आफ्नो पीडा व्यक्त गर्ने क्रममा एउटा रोचक र व्यङ्ग्यात्मक टिप्पणी समेत गर्नुभएको छ । ‘म चाहन्छु कि नेपालका सबै सुकुम्वासीहरूको पनि यस्तै ७ तले घर होस र उनीहरू पनि महलमा बस्न पाऊन,’ उहाँले भन्नुभयो । आफूले दुःख गरेर बनाएको सम्पत्तिमा डोजर चल्दाको पीडालाई उहाँले सुकुम्बासी व्यवस्थापनको प्रसङ्गसँग जोडेर सरकार र महानगरको नीतिको आलोचना गर्नुभयो ।
उक्त भवनमा यसअघि विभिन्न मिडिया कार्यालय, स्पा र रेस्टुरेन्टहरू सञ्चालनमा थिए। महानगरले खोला किनारको मापदण्ड मिचेको र स्वीकृत नक्सा भन्दा बढी संरचना बनाएको भन्दै माथिल्लो तलाहरू र नक्सा विपरीतका भागहरू भत्काएको हो। घरधनी चाम्लिङले अदालतको आदेश र आफ्नो प्रमाणका बारेमा कुरा गरे पनि महानगरले भने कानुनी प्रक्रिया पुर्याएरै अवैध संरचना हटाइएको जनाएको छ।














प्रतिक्रिया दिनुहोस्