काठमाडौं, जेठ ७ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट निर्माणका सन्दर्भमा पूर्व अर्थमन्त्रीसँग बृहत छलफलसहित सुझाव लिनुभएको छ ।
अर्थमन्त्री वाग्लेले बुधबार नौ जना पूर्वअर्थमन्त्रीहरूसँग नयाँ बजेटका प्राथमिकता र चुनौतीबारे केन्द्रित रहेर सुझाव लिनुभएको हो । आफू बजेट निर्माणको अन्तिम चरणमा रहेको र बिगतमा बजेट निर्माणकर्ताहरूको समृद्ध अनुभवसहितको मार्गदर्शनलाई अनुशरण गर्दै अघि बढ्ने प्रयासमा रहेको सो क्रममा अर्थमन्त्रीले जानकारी दिनुभएको थियो ।
‘हामी सबैले जीवनको कुनै न कुनै कालखण्डमा अर्थ मन्त्रालयको बागडोर सम्हालेका छौँ । भलै, तत्कालीन राजनीतिक परिस्थिति कति अनुकूल वा प्रतिकूल थिए होलान्, तर देश र जनताका लागि राम्रो गर्ने सबैको उद्देश्य पवित्र र एउटै थियो । अग्रजले देखाएको बाटो र यही व्यवस्थाकै जगबाट हामीले मुलुकमा समृद्धि हासिल गर्ने हो,’ सुझाव लिने क्रममा अर्थमन्त्री वाग्लेले भन्नुभयो ।
अर्थमन्त्री वाग्लेले पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डे, डा. युवराज खतिवडा, डा. प्रकाशशरण महत, रामेश्वर खनाल, शङ्कर कोइराला, डा. प्रकाशचन्द्र लोहनी, वर्षमान पुन, र जनार्दन शर्मासँग सुझाव लिनुभएको हो ।
सुझावका क्रममा पूर्वअर्थमन्त्रीहरूले स्रोतको वास्तविक अनुमान नगरी खर्चको मात्र अनुमान गरेर बजेट बनाउने परम्परागत कमजोरी यस पटक सच्याउन सुझाएका छन । यस्तै खानी विभागले पहिचान गरेका खानी, ढुङ्गा, गिट्टी उत्खनन गरेर निर्यात गर्ने आँट गर्न पनि सुझाएका छन ।














प्रतिक्रिया दिनुहोस्