काठमाडौं, जेठ ८ । नेपाल राष्ट्रिय क्रिकेट टोली ले आईसीसी विश्वकप लिग–२ अन्तर्गत संयुक्त राज्य अमेरिका राष्ट्रिय क्रिकेट टोली माथि १२२ रनको शानदार जित निकालेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले दिएको ३१८ रनको विशाल लक्ष्य पछ्याएको अमेरिका ४१.२ ओभरमा १९५ रनमै अलआउट भयो । यसअघि पनि नेपालले अमेरिकाविरुद्ध ९ विकेटको सहज जित निकालेको थियो ।
अमेरिकाका लागि सञ्जय कृष्णमुर्तीले सर्वाधिक ५६ रन बनाउनुभयो । नोस्थुस केन्जिगेले २९, शयान जहांगिर ले २७, शेहान जयसुर्याले २६ तथा सैतेजा मुक्कमल्लाले २२ रन जोड्नुभयो । अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।
अमेरिकी इनिङ्स ध्वस्त पार्न सन्दीप लामिछानेले तीन विकेट लिनुभयो । यस्तै ललित राजवंशी, दीपेन्द्र सिंह ऐरी र गुलशन झाले दुई–दुई विकेट लिनुभयो भने सोमपाल कामीले एक विकेट हात पार्नुभयो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर ३१७ रन बनाएको थियो । यो स्कोर कीर्तिपुर मैदानमा नेपालको अहिलेसम्मकै उच्च योगफल हो । यसअघि नेपालले यही मैदानमा ओमान राष्ट्रिय क्रिकेट टोली विरुद्ध ३१० रन बनाएको थियो ।

नेपालका लागि डा. ईशान पाण्डेले सर्वाधिक ८४ रनको शानदार इनिङ्स खेल्नुभयो । दीपेन्द्र सिंह ऐरीले ५९, रोहित पौडेलले ४६, आसिफ शेखले ४३ तथा कुशल भुर्तेल ले २९ रनको योगदान दिनुभयो ।
बलिङतर्फ अमेरिकाका शुभम रन्जानेले तीन विकेट लिनुभयो भने मिलिन्द कुमार र रुशिल उगारकरले एक–एक विकेट हात पार्नुभयो । नेपालका तीन ब्याट्सम्यान रनआउट भएका थिए ।
यस जितसँगै नेपालले २८ खेलबाट ११ जित र १५ हारसहित २४ अंक जोडेको छ । नेपाल अंकतालिकाको पाँचौं स्थानमा रहेको छ । संयुक्त राज्य अमेरिका राष्ट्रिय क्रिकेट टोली भने समान खेलबाट ३८ अंकसहित शीर्षस्थानमा कायम छ । समान अंक भए पनि नेट रनरेटका आधारमा स्कटल्यान्ड राष्ट्रिय क्रिकेट टोली दोस्रो स्थानमा रहेको छ ।
घरेलु सिरिजमा नेपालको प्रदर्शन प्रभावशाली रह्यो । नेपालले ८ खेलमध्ये ६ खेलमा जित हात पार्यो । संयुक्त अरब इमिरेट्स राष्ट्रिय क्रिकेट टोली, ओमान राष्ट्रिय क्रिकेट टोली र नेपाल सम्मिलित सिरिजमा चार खेलमध्ये तीन जित निकालेको नेपालले अमेरिका र स्कटल्यान्डविरुद्धको सिरिजमा पनि उत्कृष्ट प्रदर्शन गर्दै लगातार जित हासिल गरेको हो ।













प्रतिक्रिया दिनुहोस्