जनता टाइम्स

१३ जेष्ठ २०८३, बुधबार ०८:५३

बजेट लेखनमा प्रधानमन्त्री सचिवालय टीम हावी, अर्थमन्त्री वाग्ले दिक्क


काठमाडौं, जेठ १३ । बजेट आउन अव केही दिन मात्र बाँकी छ । बजेट प्रस्तुत आगामी आर्थिक वर्ष २०८३/८४ को कस्तो आउँछ भन्ने सर्वत्र चासोबीच प्रधानमन्त्रीको सचिवालयले चरम हस्तक्षेप गरेको सूचना बाहिर आएको छ ।

बजेट निर्माणमा संलग्न अर्थका एक अधिकारीले जनताटाइम्स डटकमलाई दिएको जानकारीअनुसार बजेट निर्माणमा प्रधानमन्त्री कार्यालयको चरम हस्तक्षेप देखिएको छ । साना साना कुरा पनि हुनुपर्छ भन्दै हैरानी दिने काम भएको हो ।

बालेन्द्र शाह नेतृत्वको सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउन लागेको पहिलो बजेट भएकाले पनि चासो बढेको हो । बजेट आउने समय नजिकिएसँगै यतिबेला सिंहदरबारस्थित अर्थ मन्त्रालयको माहोल पूर्ण रूपमा बदलिएको छ ।

आर्थिक संकुचन र स्रोतको सीमितताबिच एउटा आशालाग्दो र ऐतिहासिक बजेट ल्याउनुपर्ने ठुलो दबाबमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले रहनुभएको छ । यही दबाब र दायित्वलाई महसुस गर्दै अर्थमन्त्री वाग्लेले आफूलाई पूर्ण रूपमा बजेट निर्माणमा केन्द्रित गरेका छन् । हाल करका दर हेरफेर बाहेकको बजेट लेखनको काम करिब–करिब सम्पन्न भइसकेको मन्त्रालय स्रोतको भनाइ छ ।

मन्त्रालयका सहसचिव एवं राजस्व व्यवस्थापन महाशाखा प्रमुख उत्तरकुमार खत्रीको संयोजकत्वमा गठित बजेट मस्यौदा समितिले आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम, आयोजना र कार्यक्रमको प्राथमिकता निर्धारणका साथै विनियोजन विधेयकको मस्यौदा तयार बनाइसकेको छ । उक्त मस्यौदालाई अर्थमन्त्री वाग्लेले एक–एक बुदाँलाई हेरे बजेट लेखन गरिरहनुभएको अर्थका अधिकारहिरुले बताएका छन । अर्थमन्त्री वाग्लेले बजेटको बिषयमा मंगलवार साँझ प्रधानमन्त्री बालेन साह र रास्वपा सभापति रबि लामिछानेसँग छलफल गर्नुभएको छ ।

सामान्यतया सिंहदरबार छिर्ने जोकोहीलाई पनि अर्थ मन्त्रालयको कार्यकक्षसम्म पुग्न खासै सोधखोज हुँदैनथ्यो । तर, चैत महिनाको अन्तिम सातादेखि नै बजेट लेखन सुरु भएसँगै अर्थ मन्त्रालयका ढोकाहरू बन्द छन् । मन्त्रालय प्रवेशमा कडा निगरानी राखिएको छ । अनुमतिबिना सरकारी कर्मचारीले समेत प्रवेश रोकिएको छ । बजेट सार्वजनिक गर्न अब केही दिन मात्रै बाँकी रहँदा यो कडाइलाई थप चुस्त पारिएको हो ।

बजेटको आकार वृद्धि हुने संकेत

तत्कालीन सरकारले चालु आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब आकारको बजेट ल्याएको थियो । तर जेनजी आन्दोलनपछि बनेको सरकारका अर्थमन्त्री रामेश्वर खनालले अर्धवार्षिक समीक्षामार्फत चालु आर्थिक वर्षको बजेट खर्च अनुमान संशोधन गर्नुभयो ।

चालु आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट विनियोजन गरिएकोमा अर्थमन्त्री खनालले १६ खर्ब ८८ अर्ब रुपैयाँबराबरको बजेट कार्यान्वयन हुने अनुमान गरेका छन् ।

अन्तरिम सरकारले तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले संसद्मा प्रस्तुत गरेको बजेट लगभग ८६ प्रतिशत मात्रै खर्च हुने अनुमान गरेको थियो । अर्थमन्त्री वाग्ले आगामी बजेटलाई सामान्य कर्मकाण्डी दस्ताबेज बनाउने पक्षमा छैनन् । उहाँले २०४८ साल असार २७ गते तत्कालीन अर्थराज्यमन्त्री महेश आचार्य, त्यसपछि भरतमोहन अधिकारी, डा.रामशरण महत र बाबुराम भट्टराईले प्रस्तुत गरेको बजेटलाई आफ्नो ‘बेन्चमार्क’ बनाएका छन् ।

राष्ट्रिय योजना आयोगले चालु आवको भन्दा पनि घटाएर आगामी आर्थिक वर्षका लागि १८ खर्ब ९० अर्ब रुपैयाँको बजेट सिलिङ तोकेको छ । तर चालु आवको भन्दा बजेट वृद्धि हुने अर्थका अधिकारीहरुले बताएका छन ।