जनता टाइम्स

१७ जेष्ठ २०८३, आईतवार ११:४१

कुशल भुर्तेलले प्रहार गरे एकै ओभरमा ६ छक्का, चिनमाथि नेपालले दर्ता गर्यो दवदवापूर्ण जीत पक्का


काठमाडौं, जेठ १७ । नेपाली क्रिकेट टिमका ओपनिङ ब्याटर कुशल भुर्तेलले एसियन गेम्स छनोटअन्तर्गत चीनविरुद्धको खेलमा एकै ओभरमा ६ छक्का प्रहार गरेका छन् । भुर्तेलले नवौं ओभरमा ६ छक्का प्रहार गरेका हुन् । उनी यो कीर्तिमान बनाउने नेपालका दोस्रो खेलाडी बनेका छन भने विश्वकै छैटौं खेलाडीको रुपमा समेत रेकर्ड बनाएका छन ।

यसअघि हर्षल गिब्स, युवराज सिंह, जसकरन मलहोत्रा, कायरन पोलार्ड र नेपालकै दीपेन्द्रसिंह ऐरीले ६ छक्का प्रहार गरेका थिए । यसअघि नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले सन् २०२४ को एसीसी प्रिमियर कपमा कतारविरुद्ध २०औं ओभरमा ६ छक्का प्रहार गरेका थिए । दक्षिण अफ्रिकाका ब्याटर हर्सल गिब्सले २००७ को एकदिवसीय विश्वकप क्रिकेटमा नेदरल्यान्ड्सविरुद्ध एकै ओभरमा ६ छक्का हानेका थिए ।

उनले नेदरल्यान्ड्सका डान भान बंगेलाई ३० औं ओभरमा ६ छक्का हानेका थिए । हर्सल अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा ६ छक्का हान्ने पहिलो खेलाडी हुन् ।यस्तै भारतका पूर्व आक्रामक ब्याटर युवराज सिंहले २००७ को टी–२० विश्वकपमा इंग्ल्यान्डका तीव्र गतिका बलर स्टुअर्ट ब्रोडलाई १९ औं ओभरमा ६ छक्का हानेका थिए । युवराज टी–२० आईमा एकै ओभरमा ६ छक्का हान्ने पहिलो खेलाडी हुन् ।

वेस्टइन्डिजका पूर्वकप्तान काइरन पोलार्डले २०२१ को टी–२० आई सिरिजमा श्रीलंकाका स्पिनर अकिला धनञ्जयलाई छैटौं ओभरमा ६ छक्का हानेका थिए ।अमेरिकाका ब्याटर जसकरण मलहोत्राले २०२१ मा पपुवा न्युगिनीविरुद्ध ओडीआई खेलमा एकै ओभरमा ६ छक्का हानेका थिए । अन्तिम ओभरमा गौडी टोकालाई एकै ओभरमा छक्का हानेका थिए ।

एसियन गेम्स छनोटअन्तर्गतको पहिलो खेलमा नेपालले चीनमाथि २२१ रनको फराकिलो जित दर्ता गरेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा ३१३ रन बनाएको थियो ।

नेपालले दिएको ३१४ रनको विजयी लक्ष्य पछ्याएको चीन १९.२ ओभरमा ९२ रन बनाउँदै अलाआउट भयो । चीनको लागि सेन्जियान जिङले सर्वाधिक ३१ रन बनाए । उनले १५ बलमा १ चौका र ४ छक्का प्रहार गरे । चीनका दुई शीर्ष ब्याटरलाई सोमपालले बोल्ड गरे । ओपनर ब्याटर डु जिन्यायो ३ रनमा बोल्ड हुँदा मा किन्चेङ डकआउट भएका हुन् ।

केही समय टिकेर रन बनाइरहेका ओपनर डु जियानहावो र कप्तान तियान सेन्क्यू सन्दीप लामिछानेको बलिङ अट्याकबाट बच्न सकेनन् । ओपनर डुले १७ र कप्तान तियानले १२ रन बनाए । चेन जुवो इले ९ रन बनाए । नेपालका लागि बलिङतर्फ कुशल मल्लले सर्वाधिक ३ विकेट लिए । सोमपाल कामी र सन्दीप लामीछानेले २–२ विकेट लिए। नन्दन यादवले १ विकेट लिए ।

त्यसअघि, ब्याटिङ गरेको नेपालको लागि कुशल भुर्तेलले कीर्तिमानी ब्याटिङ प्रदर्शन गरे । भुर्तेलले ४३ बलमा ५ चौका र १६ छक्कासहित १२९ रनको पारी खेलेका हुन् । पहिलो विकेटका रूपमा ओपनर ब्याटर आसिफ शेख ११ रनमा पेभिलियन फर्किदा कुशल मल्लसँग कुशल भुर्तेलले १७५ रनको उत्कृष्ट साझेदारी बनाएका थिए ।

नेपालको लागि कुशल मल्ल ८५ र रोहित पौडेलले ६९ रनमा अविजित रहे । यी दुईले तेस्रो विकेटको लागि ११६ रनको अविजित साझेदारी गरेका थिए । चीनको लागि बलिङममा मा कियानचेङ र डेन जिङ्गीले १–१ विकेट लिए ।

नेपाल समूह ए मा रहेर यो प्रतियोगिता खेलिरहेको छ । जसमा समूह ए मा चीन, मलेसिया र नेपाल रहेका छन्। यसअघि, कतारले पनि छनोट खेल खेल्ने निर्धारण भएको थियो तर कतारले छनोट प्रतियोगितामा सहभागिता जनाएन। जसका कारण नेपालको समूहमा ३ टोली रहेका छन्। समूह बीमा बहराइन, हङकङ, ओमान र सिंगापुर रहेका छन्।