जनता टाइम्स

२१ जेष्ठ २०८३, बिहीबार १४:४०

ठाउँको-ठाउँ कार्वाहीमा ट्राफिक प्रहरी, २४ घण्टाभित्रै २२ लाख ७६ हजार राजस्व असुली


काठमाडौं, जेठ २१ । पछिल्लो समय ट्राफिक प्रहरी सडक अनुशासन कायम गर्न निकै कठोर रुपमा प्रस्तुत भएको छ ।

सभामुख डिपी अर्यालदेखि मन्त्रीसम्म कसैलाई बाँकी नराखेको ट्राफिक प्रहरीले सडक अनुशासन कायम गराउने क्रममा २४ घण्टाको कार्वाहीमै २२ लाख ७६ हजार राजस्व संकलन गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका अनुसार बितेका २४ घण्टामा दुई हजार ४४५ सवारीचालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन्।

यसबाट राज्यकोषमा २२ लाख ७६ हजार ५१७ रुपैयाँ राजस्व दाखिला भएको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयले मादकपदार्थ सेवन गरेका १ २८, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६०, सङ्केत बत्ती उल्लंघनकर्ता १४१ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १८३ जनालाई कारबाही गरिएको जनाएको छ ।

यस्तै लेन अनुशासन पालना नगर्ने ४३, निषेधित क्षेत्रमा हर्न बजाउने १२३, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने १४, एकतर्फी सडकमा सवारी चलाउने १६६ र अन्य सवारी नियम पालना नगरेका एक हजार ४८७ जनालाई कारबाही गरिएको ट्राफिक कार्यालयले जनाएको छ ।