काठमाडौं, जेठ २३ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी ले संसदीय प्रक्रिया र लोकतान्त्रिक पद्धतिमाथि निरन्तर हस्तक्षेप भइरहेको भन्दै देश निर्वाचित अधिनायकवादतर्फ उन्मुख हुने संकेत देखिएको टिप्पणी गर्नुभएको छ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता केसीले लोकतन्त्र केवल बहुमतको आधारमा मात्र सञ्चालन नहुने उल्लेख गर्नुभएको छ। उहाँले लोकतान्त्रिक शासन प्रणाली बहुमत र वैधानिक प्रक्रियाको सन्तुलित समन्वयमा आधारित हुने बताउँदै पछिल्ला घटनाक्रमले संसदीय अभ्यासमाथि गम्भीर प्रश्न उठाएको धारणा राख्नुभएको हो।
उहाँले नयाँ सरकार गठन भएको छोटो अवधिमै संसदीय प्रक्रिया र स्थापित पद्धतिमाथि निरन्तर हस्तक्षेप भइरहेको आरोप लगाउनुभयो। संसद्मा दर्ता भइसकेको विधेयक संसद्को सम्पत्ति बन्ने भएकाले त्यसलाई कार्यकारी आदेश वा दबाबका आधारमा फिर्ता लिन, परिवर्तन गर्न वा रोक्न नमिल्ने उहाँको भनाइ छ।
नेता केसीले प्रस्तुत भइसकेका विधेयकलाई संसदीय प्रक्रियाबाहिर गएर प्रभाव पार्ने प्रयासलाई संसदीय मर्यादा, नियमावली र अन्तर्राष्ट्रिय लोकतान्त्रिक अभ्यासविपरीतको कदमको संज्ञा दिनुभएको छ। उहाँका अनुसार यस्तो अभ्यासले संसद्को विशेषाधिकारमाथि प्रत्यक्ष हस्तक्षेप गर्ने र लोकतान्त्रिक संस्थाहरूलाई कमजोर बनाउने खतरा बढाउँछ।
उहाँले आर्थिक विधेयक संसद्मा प्रस्तुत भइसकेपछि ‘त्रुटि सच्याउने’ नाममा करका दर परिवर्तन गर्न खोजिएको विषयप्रति पनि आपत्ति जनाउनुभयो। बजेटजस्तो संवेदनशील विषयमा कार्यपालिकाले नियम मिचेर निर्णय सच्याउने अभ्यासले विधायिकाको भूमिकालाई कमजोर बनाउने र गलत नजिर स्थापित गर्ने चेतावनी उहाँले दिनुभएको छ।
बहुमतको आधारमा जस्तोसुकै निर्णय गर्न मिल्ने मानसिकता लोकतान्त्रिक मूल्य–मान्यताविपरीत भएको उल्लेख गर्दै नेता केसीले सरकारले गल्ती स्वीकार गरी विधेयकलाई औपचारिक संशोधन प्रक्रियामार्फत संसद्मा प्रस्तुत गर्नु नै उचित र सम्मानजनक बाटो हुने बताउनुभयो।
उहाँले संसदीय प्रक्रिया र संवैधानिक मूल्यहरूको सम्मान नगरे लोकतन्त्र केवल औपचारिकतामा सीमित हुने र मुलुक निर्वाचित अधिनायकवादतर्फ उन्मुख भएको स्पष्ट सन्देश जाने चेतावनी दिनुभएको छ।













प्रतिक्रिया दिनुहोस्