जनता टाइम्स

२७ जेष्ठ २०८३, बुधबार १७:४७

प्रधानमन्त्रीले संकट निम्त्याए, समाधान दुई जनाको हातमा मात्रै छ : एमाले


काठमाडौं, जेठ २७ । नेकपा एमालेले संसदमा विद्यमान संकट समाधान प्रधानमन्त्री बालेन्द्र साह र रास्वपा सभापति रवि लामिछानेको हातमा रहेको बताउनु भएको छ । प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै संसदीय दलका नेता तथा उपाध्यक्ष रामबहादुर थापा बादलले यस्तो धारणा राख्नुभएको हो ।

थापाले प्रधानमन्त्री शाहको ‘नेपालले पनि भारतको भूमि मिचेको छ’ भन्ने अभिव्यक्तिका कारण संकट निम्तिएकाले समाधान पनि उनैले दिनुपर्नेमा जोड दिनुभयो । संसद्को रोष्टममा उभिएर साहले गम्भीर भूल थियो भनी स्वीकार गरेमा संकटको सहज निकास निस्कने पनि थापाले प्रष्ट पार्नुभयो ।

प्रधानमन्त्रीले त्यसो नगरे सभापतिको हैसियतमा लामिछानेले उक्त वक्तव्य फिर्ता लिन निर्देशन दिनसक्ने बादलको भनाइ छ । यी दुई काम भए संसदको गतिरोध अन्त्य भएर जाने थापाले बताउनु भयो । उहाँले देशको सवालमा आफ्नो दल एमाले कुनै इफ बटमा नरहेको बटमलाइन पनि सुनाउनु भयो ।

‘यो संकटको समाधान कसको हातमा छ त ? भनेर त्यसलाई एउटा निष्कर्षमा पुगेर हामीले बुझ्दाखेरी यो संकटको समाधान वा संकटमोचक दुई जना पात्रहरुको हातमा छ । ती दुई जना पात्र भनेको सम्माननीय प्रधानमन्त्री । उहाँले यो रोष्टममा आएर मैले जो बोले, नेपालको भारतका धेरै जग्गाहरु मिचेको छ भनेर जो मैले भनेँ यो इतिहासको तथ्यसँग मेल खाँदैन। यो मेरो ठूलो ऐतिहासिक भूल थियो भनेर स्वीकार गर्ने हो भने यो संकट हल हुन्छ,’ थापाले भन्नुभयो, ‘अर्काे रास्वपाका सभापतिले त्यो वक्तव्य तपाईले फिर्ता लिनुपर्छ भनेर आफ्नो पार्टीको सदस्यलाई त्यो निर्देशन दिनु भयो भने पनि यो संकट हल हुन सक्छ ।’

तेस्रो विकल्पको रुपमा प्रधानमन्त्रीले दिएको उक्त वक्तव्य सभामुख डोलप्रसाद अर्यालले संसदको रेकर्डबाट हटाउन रुलिङ गर्दा पनि अहिलेको संकट बादलको भनाई छ । ‘तेस्रो पनि अर्को समाधान छ । तेस्रो समाधान भनेको सम्मानीय सभामुखको हातमा छ । सभामुखले प्रधानमन्त्रीले बोलेको वक्तव्यहरुलाई ती तथ्यहीन वक्तव्यलाई यो संसदको अभिलेखबाट हटाउने रुलिङ गर्नुभयो भने पनि यो संकटको हल हुनसक्दछ भन्ने हामीलाई लागेको छ,’ पार्टीको तर्फबाट नै प्रस्ताव गर्दै थापाले भन्नुभयो ।

उहाँले प्रधानमन्त्री साहले राष्ट्रविरोधी, तथ्यहीन वक्तव्य संसदमा दिएकाले त्यसको विरोध गर्नुपर्ने बाध्यकारी अवस्था आफूहरूमा आएको पनि बताउनु भयो ।