जनता टाइम्स

२९ जेष्ठ २०८३, शुक्रबार ११:५९

अर्थमन्त्री स्वर्णिमलाई एमालेको सिधा चुनौती


काठमाडौं, जेठ २९ । नेकपा एमालेले अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई सिधा चुनौती दिएको छ । एमाले नेता तथा सांसद गुरु बरालले अर्थमन्त्री वाग्लेलाई विगतका सबै घटनाहरूलाई दूधको दूध पानीको पानी गरेर छुट्टाउनको प्रतिपक्ष तयार रहेको भन्दै चुनौती दिनुभएको हो ।

बिहीवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले विपक्षीको काण्ड पनि आफूलाई थाहा भएको भन्दै खोल्ने चेतावनी दिएपछि एमाले सांसद बरालले शुक्रवार संसद बैठकमै यस्तो चुनौती दिनुभयो ।

‘देशको अर्थमन्त्रीले आफ्नो विचार अभिव्यक्ति गरिरहँदा विगतको इतिहासलाई केलाएर उहाँले केही सन्दर्भहरू उठाउनुभयो। विगतका सबै घटनाहरूलाई दूधको दूध पानीको पानी गरेर छुट्टाउनको लागि यो प्रतिपक्ष हाजिर छ, खडा छ र त्यसले सत्यापनलाई प्रमाणित गर्न सक्छ, कमजोरी भए सच्याउन चाहन्छ,’ बरालले भन्नुभयो ।

उहाँले विगतको कुरालाई देखाएर अर्थमन्त्रीले बजेट छेडखानी गर्न नपाउने भन्दै कडा आपत्तिसमेत जननाउनु भयो । बरालले अर्थमन्त्रीको भनाईले नियतमै खोट देखिएको ठोकुवासमेत गर्नुभयो ।

उहाँले अगाडि भन्नुभयो, ‘विगतको कुरालाई देखाएर अहिले अर्थमन्त्रीले बजेटको दररेटमाथि छेडखानी भएर राजश्वलाई तलमाथि पार्नुभएको छ, यो चिजबाट उम्किन पाइँदैन। यस दिशातर्फ अर्थमन्त्रीको अविलम्ब ध्यान सभामुख मार्फत आकृष्ट गरियोस्। एउटा संसदीय समिति मार्फत मात्रै यो विषयलाई छानबिन गरेर निरूपित गर्नुपर्छ, अन्यथा यस खालका चलनहरू चलिरहनेछन्, गलत चिजहरूको नजिर र अभ्यास बसिरहनेछ। यसलाई सदाको लागि अन्त्य गर्नको लागि संसदीय छानबिन समितिको नितान्त जरुरी छ।’ करको दर हेरफेर र बिवाइडी गाडीमा सरकारले सूचना चुहाएर अपराध गरेको भन्दै सदनमा बिपक्षीहरुले संसदीय छानविन माग गरिरहेका छन ।

सोही बिषयमा शुक्रवार अर्थमन्त्री वाग्लेले ‘तपाईंहरुको काण्ड पनि थाह छ, हेरौला !’ भन्दैधम्की दिनुभएको थियो ।