जनता टाइम्स

२९ बैशाख २०७६, आईतवार १०:३०

टुकीको भरमा जीवनयापन गर्दै आएका निस्दीवासीलाई सौर्य बत्ती


रामपुर, बैशाख २९

टुकीको भरमा जीवनयापन गर्दै आएका पाल्पाको निस्दी गाउँपालिकाका नागरिकले अब सोलारबाट बत्ती बाल्न पाउने भएका छन् । गाउँपालिकालाई टुकीरहित बनाउने कार्यक्रमअन्तर्गत सो अभियान थालिएको हो । गाउँपालिकामा टुकी बालेरै जीवन निर्वाह गरेका १ सय ६६ घरपरिवारलाई सोलार वितरणका निम्ति गाउँपालिकाले १४ लाख ११ हजार विनियोजन गरेको गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारुले बताउनुभयो ।

मगर समुदायको बाक्लो बस्ती रहेको सदरमुकाम तानसेनबाट करिब ७० किलोमिटर पूर्वमा रहेको निस्दीका सात वडामा सोलार वितरणको योजना रहेको छ । पहिलो चरणमा वडा नम्बर ६ का ४१ घरपरिवारलाई २० वाट क्षमताका सोलार वितरण गरिएको वडाध्यक्ष मेखबहादुर सुनारीको भनाइ छ ।

गाउँपालिकाको अर्चले, गल्धा, झिरुवास, मित्याल र ज्यामिरेमा सामुदायिक विद्युतीकरणको काम भए पनि ढिलासुस्ती भएको उहाँले बताउनुभयो। विद्युत् नहुदाँ मोबाइल चार्ज गर्न तथा विद्युतीय सामानको प्रयोगमा समस्या भएको स्थानीयवासीको गुनासो छ ।