जनता टाइम्स

३ असार २०८३, बुधबार २०:४२

वैदेशिक रोजगार विभागमा देखियो उल्लेख्य सुधार : ह्वात्तै बढ्यो काममा सक्रियता, पीडितले पाउन थाले चाँडो न्याय


काठमाडौं, असार ३ । वैदेशिक रोजगारीका नाममा हुने गरेको ठगी नियन्त्रण र श्रमिकका समस्या समाधानका लागि वैदेशिक रोजगार विभागले आफ्नो सक्रियता ह्वात्तै बढाएको छ ।

बिभागकी प्रमुख मीरा आचार्यले पीडितलाई न्याय र नेपाली कामदारको हितमा सून्य सहनशीलताको नीतिसहित अघि बढने कार्ययोजना बनाएर अभियान तीब्र बनाइकी हुन । यही क्रममा बिभागले दैनिक कामको रफ्तार बढाउँदै लगेको तथ्यले नै देखाएको छ ।

विभागले सार्वजनिक गरेको २०८३ असार ३ गतेको विवरणअनुसार, मुद्दा तथा अनुसन्धान शाखामा २९ वटा नयाँ जाहेरी दर्ता भएका छन् भने ९ जना आरोपी पक्राउ परेका छन । विभागले ठगीमा संलग्नहरूलाई कानुनी दायरामा ल्याउन तीव्र रूपमा काम अघि बढाइएको जानकारी दिएको छ ।

पछिल्लो विवरणअनुसार २८ वटा पक्राउ पुर्जी जारी गरिएको छ भने नौजनालाई पक्राउ गरी उपस्थित गराइएको छ । यस्तै, नौवटा मुद्दामा आपसी मिलापत्र गराइएको छ भने बैंकलाई लेखिएको पत्र, अभियोगपत्र र रायपत्रलगायत ६८ वटा पत्रहरू चलानी गरिएको विभागले जनाएको छ ।

संस्था अनुगमन शाखाले म्यानपावर व्यवसायीहरूलाई पाँचवटा पत्राचार गरेको छ भने १६ वटा राहदानी वितरण गरेको छ । त्यस्तै, राहत, उद्धार तथा समन्वय शाखाको सक्रियतामा ६ जनाको उद्धार गरिएको छ भने दुईजनालाई क्षतिपूर्ति उपलब्ध गराइएको बिभागले जनाएको छ ।

उक्त शाखाले १० वटा नयाँ उजुरी दर्ता गरी १३ वटा द्विपक्षीय छलफल र १५ वटा परामर्श सेवा प्रदान गरेको जनाएको छ । गुनासो व्यवस्थापनमा उच्च प्राथमिकताका लागि सरकारले सञ्चालन गरेको ‘हेलो सरकार’मार्फत प्राप्त ११ वटा गुनासोमध्ये नौवटाको तत्काल समाधान गरिएको बिभागको भनाई छ ।

यस्तै, विभागको आफ्नै कल सेन्टरमा प्राप्त ४७ वटा गुनासोमध्ये २९ वटा समाधान भइसकेका र अन्य प्रक्रियामा रहेका छन् । युवा श्रम तथा रोजगारमन्त्री रामजी यादवको सचिवालय र ह्वाट्सएप मार्फत प्राप्त हुने राहत तथा उद्धारका गुनासोहरूलाई थप प्रभावकारी बनाउन विभागले नयाँ प्रक्रियाको सुझाव दिएको छ । आधिकारिक पत्र र आवश्यक कागजात संलग्न गरी पठाउँदा राहत तथा उद्धार कार्यमा थप प्रभावकारी हुने विभागले जनाएको छ । बिभागको नेतृत्वमा महिला पुगेपछि यस्तो सुधार देखिएको काम लिएर पुग्ने सेवाग्राहीको भनाई छ ।

‘कार्यालय प्रमुख पहिलाको जस्ता हुनुहुन्न रैछ, कुरा सुन्ने, बदमासी गर्नेलाई नछाडने बानी रहेछ, त्यसैले काम फटाफट हुन थालेको छ,’ बुधवार बिभाग परिसरमा काम लिएर पुगेका एक नेपाली श्रमिकले भने । उनका अनुसार बिभागको हरेक क्षेत्रमा बिगतमा भन्दा धेरै सुधार देखिएको छ ।