झापा, असार ४। भारतले नेपाली चिया निर्यातमा अघोषित रोक लगाएपछि पूर्वका चिया उद्योगहरू धमाधम बन्द हुन थालेका छन् । बालेन सरकार कुनै पहलकदमी नै नलएर रमिते बन्दा चिया उद्योगहरू धमाधम बन्द हुन थालेका हुन ।
असार १ गतेदेखि इलामका ५६ उद्योग बन्द भएकोमा आज असार ४ गतेदेखि झापाका ३० भन्दा बढी चिया उद्योग र करिब दुई दर्जन चिया बगानहरू पनि पूर्णरूपमा बन्द भएका छन् । चियाको पकेट क्षेत्र मानिने इलाम र झापामा उत्पादित चिया गोदाममै थन्किएपछि र सरकारले कूटनीतिक पहलमा बेवास्ता गरेपछि बाध्य भएर आजैदेखि उद्योग बन्द गर्नुपरेको नेपाल चिया उत्पादक संघले जनाएको छ ।
संघका अध्यक्ष आदित्य पराजुलीका अनुसार भारतले गरेको अवरोध खुलाउन बारम्बार सरकारी निकायमा धाउँदा पनि कुनै सुनुवाइ नभएपछि व्यवसायीहरू यस्तो कदम चाल्न बाध्य भएका हुन् ।‘हामीले माथिल्लो तहबाटै कूटनीतिक पहल गरिदिन सम्बन्धित निकायमा पटक–पटक आग्रह गर्यौं, तर त्यहाँ हाम्रो कुरा सुन्ने व्यक्ति भेट्न समेत मुस्किल पर्यो,’ अध्यक्ष पराजुलीले भन्नुभयो, ‘विगतमा यस्ता समस्या आउँदा सरकारले केही चासो देखाउँथ्यो, तर यसपालि चरम बेवास्ता गरिएका कारण बाध्यताले उद्योगहरू बन्द गरेका हौं ।’
निर्यात ठप्प हुँदा उद्योगका गोदामहरू तयारी चियाले भरिभराउ छन् भने दैनिक काम प्रभावित भएको छ । उत्पादित चिया नै बिक्री नभएपछि कारखानामा काम गर्ने मजदुर तथा कर्मचारीलाई तलब दिनसमेत नसक्ने अवस्था सिर्जना भएको व्यवसायीको भनाई छ । भारतले चिया निर्यातमा लगाएको अवरोध नहटेसम्म उद्योग बन्द रहने संघले जनाएको छ ।
झापा नेपालकै सबैभन्दा ठूलो चिया उत्पादन हुने जिल्ला हो । यहाँ सीटीसी र अर्थोडक्स गरी वार्षिक १२ देखि १४ अर्ब रुपैयाँ बराबरको चिया कारोबार हुने गर्दछ । व्यवसायीहरूको तथ्यांक अनुसार कुल उत्पादनमध्ये ५ अर्ब रुपैयाँभन्दा बढीको चिया भारतमा मात्रै निर्यात हुँदै आएको छ ।
यसरी चिया निर्यात रोकिँदा र उद्योगहरू बन्द हुँदा यस क्षेत्रमा प्रत्यक्ष रूपमा आश्रित करिब ६० हजार श्रमिक, कर्मचारी र किसानको रोजीरोटी गम्भीर संकटमा परेको छ । सरकार श्रमिकको रोजीरोटी खोसिदा पनि वेवास्ता गरेर बिन्दास बसेको भन्दै चर्काे आलोचना भएको छ ।













प्रतिक्रिया दिनुहोस्