जनता टाइम्स

२ पुष २०७६, बुधबार १३:१३

मन्त्री पद्मा अर्यालको निश्कर्ष : उत्पादन क्षेत्रमा लगानी गरी समाजबादको सारथी बन्‍नुपर्छ सहकारी क्षेत्र


काठमाडौं, पुस २

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले सहकारी क्षेत्रलाई एकीकृत ढंगले उत्पादन क्षेत्रमा लगानी गरी समाजबादको सारथी बन्‍न आग्रह गर्नुभएको छ । आज राष्ट्रिय सहकारी बैंकको आयोजनामा काठमाडौंमा भईरहेको ‘कोअपरेटिभ लिडर्स नेशनल फोरम २०७६’ कार्यक्रममा देशको समृद्धिका लागि मुलुकभर छरिएर रहेका सहकारीहरुले एकीकृत र व्यवसायिक ढंगले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने बताउनुभयो ।

मन्त्री अर्यालले भन्नुभयो, ‘पुजीको निमार्ण बिना समाजवाद आउँदैन, त्यसैले सहकारीले पुजी निमार्ण गर्नुपर्छ र उत्पादनमा लगाउनुपर्छ, तब समाजवादको रेखा कोरिन्छ र सहकारीकर्मीले समाजवादको अभियान्ता भन्न पाउनुहुन्छ ।’ मन्त्री अर्यालले आर्थिक समृद्धिलाई प्राथमिकताका राखेर सहकारीहरुले काम गर्नुपर्ने बताउनुभयो ।

सरकारले सबै सहकारीहरुलाई उत्पादनमूलक क्षेत्रमा लगाउनेगरी आवश्यक कानुनको तर्जुमा गरिरहेको बताउँदै दिगो लक्ष्य हासिल गर्नका लागि बढी भन्दा बढी लगानी र व्यक्ति सहभागी भएर उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो । अबको दिशा समृद्धि र विकासकै दिशा भएको बताउँदै सहकारी संस्थाहरु एकीकृत उत्पादनमा लाग्नुपर्ने उहाँको जोड थियो । त्यस्तै राष्ट्रिय सहकारी बैंकले पनि त्यस्तो क्षेत्रमा लगानी गर्न सुझाब दिनुभयो ।

सहकारीमा सुशासन र संगठनात्मक अवस्था मजबुद हुनुपर्ने भन्दै अब सहकारीको गफ र भाषण गरेर मात्र नपुग्‍ने बताउनुभयो । ‘गाउँ–गाउँको समृद्धिको अभियान विषयगत सहकारीबाट चलाइने छ, यसका लागि कृषि सहकारीलगायत विषयक सहकारी आवश्यक छ, प्रक्रियागत ढङ्गले सहकारीको सङ्ख्या घटाउने र बढाउने गरिन्छ, उहाँले भन्नुभयो ।’ मन्त्री अर्यालले कृषि सहकारीमार्फत ठूला स्तरका कृषि फार्म तथा उद्योग सञ्चालन गर्ने वातावरण बनाइने बताउनुभयो ।

उहाँले थप्नुभयो, ‘सरकार सहकारीमा कानूनी बाधक बनेको छैन र बन्दैन पनि, हामी फरक ढंगले सहकारीमार्फत विकासका काममा काम गर्ने अभियानमा छौं ।’ सहकारीकर्मीले पनि सहकारी कानूनमा रहेर सरकारको समृद्धिको यात्रामा साथ दिनुपर्ने उहाँले बताउनुभयो । उहाँले सरकार किसानमैत्री, सहकारीमैत्री भएर समृद्धिको अभियान चलाउने योजना बनाइरहेका बेला जमीनलाई फरक ढंगले सदुपयोग गर्दै अधिकतम उत्पादनमा लाग्न आग्रह समेत गर्नुभयो ।