भैरहवा, असार ५ । रूपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबार गरेको आरोपमा सात जना चिनियाँ नागरिक पक्राउ परेका छन्।
नेपाल प्रहरीका अनुसार विभिन्न मोबाइल एप र वेबसाइटमार्फत नेपालमा कानूनले निषेध गरेको क्रिप्टोकरेन्सी कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले असार ३ गते राति करिब १ बजे बुटवल–१२ स्थित एक स्थानमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा ४९ वर्षीय सियोङ गुओफु (XIONG GUOFU), ४३ वर्षीय हु गाङ (HU GANG), ४५ वर्षीय ली सुआन्हे (LI XUANHE), ३६ वर्षीय सुन हुई (SUN HUI), ३५ वर्षीय झाओ चिउचेन (ZHAO QIUCHEN), ३१ वर्षीय सियाङ जियासुन (XIANG JIASHUN) र ४५ वर्षीय ली बिन (LI BIN) रहेका छन्।
प्रहरीका अनुसार उनीहरूले Binance, OKX, INTOKEN, Paytm, Bhim, Mobikwik र PhonePe लगायतका विभिन्न एप तथा वेबसाइट प्रयोग गरी अभौतिक मुद्रा कारोबार गरिरहेको अवस्थामा पक्राउ परेका हुन्।
उनीहरूको साथबाट विभिन्न कम्पनीका ११ थान मोबाइल फोन र दुई थान ल्यापटप बरामद गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ। पक्राउ परेका विदेशी नागरिकमाथि अभौतिक मुद्रा सम्बन्धी कसुरमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।













प्रतिक्रिया दिनुहोस्