जनता टाइम्स

६ असार २०८३, शनिबार १९:१०

रविले लगाए बालेन समूहमाथि लगाम, ठेगान लगाउन सत्ताको सबथोक रोक्ने आचारसंहिता


रास्वपा सभापति रवि लामिछानेले महाधिवेशनमा प्रधानमन्त्री बालेन साह समूहले चुरीफुरी गर्न थालेको सूचना पाएपछि निर्वाचन आयोगमार्फत कडा आचार संहिता जारी गराएर लगाम लगाउनु भएको छ । राजकीय स्रोतबाट चुनाव प्रभावित पार्न नपाइने, र प्यानल बनाउन निषेध गर्दै आचारसंहिता जारी गरिएको हो ।

चितवन, असार ६ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा कडा आचार संहिता बनाइएको छ ।

आइतबारबाट चितवनमा सुरु हुने महाधिवेशनमा सत्ताको दुरुपयोग हुने देखिएपछि सभापति रवि लामिछानेको निर्देशनमा निर्वाचन आयोगले कडा आचारसंहिता बनाएर लागू गरिएको हो । रास्वपाले प्रधानमन्त्री बालेन्द्र शाह निकट मानिएको नेताहरुले गुटबन्दी र सत्ताको दुरुपयोग बढाउने संकेत पाएपछि ठेगान लगाउन राजकीय सत्ताको उपयोग नै गर्न नपाइने नियम बनाएको छ ।

रास्वपाको महाधिवेशनका लागि चितवनमा देशभरका रास्वपा नेताकार्यकर्ता भेला भइसकेका छन् । पार्टी गठनको चार वर्षपछि पहिलो पटक हुन लागेको महाधिवेशनले नयाँ कार्यसमिति समेत चयन गर्नेछ । त्यसको व्यवस्थापकीय र वैधानिक पक्षको काम गर्न रास्वपाले केन्द्रीय निर्वाचन आयोगको व्यवस्था गरेको छ ।

आयोगले प्रथम महाधिवेशनका लागि राजकीय स्रोतबाट चुनाव प्रभावित पार्न नपाइने र प्यानल बनाउन निषेध गर्दै चार बुँदे निर्वाचन आचारसंहिता पनि जारी गरेको छ । आचारसंहिताअनुसार पहिलो बुँदामा उम्मेदवारी तथा प्रचार प्रसार सम्बन्धी व्यवस्था गरेको छ । जसमा विधिवत् उम्मेदवारी प्रमाणित भइसकेपछि मात्रै प्रचारप्रसार गर्न पाइने, प्यानल वा गुटबन्दी गर्न नपाइने, संयुक्त सूची बाँड्न नपाइने जस्ता विषय उल्लेख छ ।

यस्तै, दोस्रो बुँदामा पार्टी र सरकारको जिम्मेवारीमा रहेका व्यक्तिले राजकीय र दलीय स्रोतको प्रयोग गरेर निर्वाचनको निष्पक्षतामा प्रभाव पार्न नपाइने भनिएको छ । तेस्रो बुँदामा मतदान सम्बन्धी व्यवस्था र चौथो बुँदामा उजुरी तथा कारबाही सम्बन्धी व्यवस्था राखिएको छ ।