जनता टाइम्स

६ असार २०८३, शनिबार २०:५२

रास्वपाको प्रतिनिधि संख्या चार हजारभन्दा बढी, कुन प्रदेशबाट कति ?


चितवन, असार ६ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन प्रतिनिधि चार हजार २ सय भन्दा बढी हुने भएका छन् । प्रारम्भिक तथ्यांकानुसार चार हजार २१० प्रतिनिधि हुने रास्वपा केन्द्रीय सचिवालयले जानकारी दिएको हो ।

सचिवालयका संगठन विभाग सचिव शंकर श्रेष्ठका अनुसार, प्रारम्भिक तथ्यांकमा तीन हजार ८१० प्रतिनिधि देखिएको छ । यसमा २५ देशका प्रभास सम्पर्क विभागबाट २०० हाराहारी प्रतिनिधि थप हुने श्रेष्ठले जानकारी दिनुभयो ।

विधानतः सभापतिले मनोनय गर्ने संख्या २ सय छ । यसका अतिरिक्त समूहगत रूपमा पार्टी प्रवेश गर्नेबाट अरू केही थप हुन सक्ने श्रेष्ठको भनाई छ । उहाँका अनुसार शनिबार बिहानसम्ममा गरिएको सूचीमाथि दाबी विरोध, दोहोरो पर्ने र छुटपुट भएमा त्यसलाई समावेश गरी अन्तिम नामावली प्रकाशन गरिनेछ ।

केन्द्रीय समितिको बैठकमा सभापतिले विधानतः मनोनयन गर्न पाउने प्रतिनिधिको नाम पेस भएपछि रातीसम्ममा अन्तिम नामावली तयार हुने उहाँले जानकारी दिनुभयो । प्रारम्भिक तथ्यांकानुसार, कोसी प्रदेशबाट प्रतिनिधिको संख्या ५२० छ । मधेसबाट ६३०, वाग्मतीबाट ७९०, लुम्बिनीबाट ४९०, गण्डकीबाट ४७०, कर्णालीबाट ३६० र सुदूरपश्चिम प्रदेशबाट ५५० प्रतिनिधि महाधिवेशनमा सहभागी हुने छन ।

यस्तै, प्रदेशको विभाग, अनुशासन आयोग र सल्लाहकार परिषद्का पदाधिकारी प्रतिनिधि हुने व्यवस्था छ । संघीय नेतृत्व मञ्चका सबै केन्द्रीय समितिका सबै, केन्द्रमा रहेका ३८ विभागका ११ जनाका दरले सदस्य र केन्द्रीय निर्वाचन आयोग, अनुशासन आयोग र लेखा आयोगका ११ जनाका दरले प्रतिनिधि हुनेछन् ।

प्रत्येक गाउँपालिकाबाट एक, नगरपालिकाबाट दुई, उपमहानगरपालिकाबाट तीन र महानगरपालिकाबाट चार प्रतिनिधि हुनेछन् । प्रदेश सम्पर्क विभागबाट तीनजनाका दरले र जिल्ला सम्पर्क विभागबाट एकरएक प्रतिनिधि हुने व्यवस्था छ ।

पछिल्लो प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाका तर्फबाट उपविजेता र समानुपातिक सूचीमा रहेका पनि प्रतिनिधि हुनेछन् । यस्तै, ०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उपविजेता र समानुपातिक बन्दसूचीमा रही पार्टीमा सक्रिय भएका पनि प्रतिनिधि रहनेछन् । केन्द्रीय समितिमा नरहेका प्रतिनिधिसभा सदस्य समेत प्रतिनिधि हुने व्यवस्था छ ।

आइतबार भरतपुरको गेस्टहाउस चौरमा उद्घाटनसत्र हुनेछ । बन्दसत्र उद्योग संघको प्रदर्शनी केन्द्रमा हुनेछ । महाधिवेशनका निम्ति पार्टी सभापति रवि लामिछानेसहितका नेताहरू चितवन आइसकेका छन् । प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह (बालेन) आइतबार नै चितवन आउने कार्यक्रम छ । रहेको रास्वपाले जानकारी दिएको छ ।

रास्वपाको महाधिवेशन प्रतिनिधिका रूपमा पालिका सभापति, क्षेत्रीय सभापति र उपसभापति, जिल्ला सभापतिसहित पाँचजना, प्रदेश समितिका सबै सदस्यहरू रहने व्यवस्था छ ।