काठमाडौं, असार ७ । रास्वपाका वरिष्ठ नेता प्रधानमन्त्री बालेन्द्र साहले पार्टीभित्र एकता, जनमुखी शासन र सुशासनलाई प्राथमिकतामा राख्नुपर्ने बताउँदै आफ्नो नेतृत्वको सरकार निर्धारित लक्ष्य पूरा नभएसम्म नरोकिने स्पष्ट पार्नुभएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले अहिले धेरै विषयमा विस्तृत रूपमा नबोल्ने संकेत गर्दै समय आएपछि सबै विषयमा धारणा सार्वजनिक गर्ने बताउनुभयो। ‘नबोलौँ भन्छु, बोल्ने दिन आइहाल्छ,’ उहाँले भन्नुभयो।
उहाँले महाधिवेशनको मुख्य उद्देश्य पार्टीलाई अझ बलियो, एकताबद्ध र संस्थागत बनाउने हुनुपर्नेमा जोड दिँदै गुट–उपगुटभन्दा माथि उठेर संगठनलाई एउटै दिशामा अघि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो।
प्रधानमन्त्री साहले आफ्नो नेतृत्वको सरकारलाई ‘एक्सप्रेस गाडी’सँग तुलना गर्दै निर्धारित गन्तव्यमा नपुगेसम्म सरकार नरोकिने बताउनुभयो। ‘हाम्रो सरकार एक्सप्रेस गाडी हो। गन्तव्यमा पुगेपछि मात्र ब्रेक लाग्छ। यो लोकल सडकमा चल्ने गाडी होइन,’ उहाँले भन्नुभयो, ‘हाम्रो गाडी अनियन्त्रित पनि छैन। अहिले वातावरण पनि हाम्रो पक्षमा बन्दै गएको छ।’
उहाँले जनताको समर्थन क्षणिक ‘हावा’ नभई दीर्घकालीन परिवर्तनको आधार भएको दाबी गर्नुभयो। ‘हामीले हावा चलाएका होइनौँ, खोलो फर्काएर बाढी ल्याएका हौँ। खोलाले एकपटक बाटो समातेपछि त्यही दिशामा अघि बढ्छ,’ उहाँले भन्नुभयो।
उहाँले जनतालाई नै पार्टी र सरकारको केन्द्रबिन्दु रहेको उल्लेख गर्दै जनताको विश्वास नै रास्वपाको सबैभन्दा ठूलो शक्ति भएको धारणा राख्नुभयो। ‘जनता स्पटलाइटमा थिए, छन् र सधैँ रहनेछन्। हाम्रो सूर्यले जनतालाई प्रकाशित गर्छ। त्यसैले जनता नै सधैँ अगाडि रहनेछन्,’ उहाँले भन्नुभयो।
प्रधानमन्त्री साहले रास्वपा कुनै निश्चित वाम वा दक्षिणपन्थी राजनीतिक धारमा सीमित नभई काम गर्ने पार्टी भएको दाबी गर्नुभयो। उहाँले कसैसँग व्यक्तिगत द्वन्द्व नरहेको तर भ्रष्टाचारका विषयमा भने कुनै सम्झौता नहुने स्पष्ट पार्नुभयो। ‘हामी कसैसँग निहुँ खोज्दैनौँ। तर विगतमा भ्रष्टाचार भएको छ भने त्यसमा अवश्य प्रश्न उठाउँछौँ। आवश्यक परे अख्तियारलाई पाँच घण्टा होइन, पाँच वर्षसम्म पनि थुनेर छलफल गरेर सत्य स्थापित गर्न तयार छौँ,’ उहाँले भन्नुभयो।
सीमासम्बन्धी आफ्नो अभिव्यक्तिलाई लिएर उठेका विवादप्रति पनि उहाँले प्रतिक्रिया दिँदै नेपालको राष्ट्रियतामाथि कसैले शंका नगर्न आग्रह गर्नुभयो। सीमाका विषयमा प्रमाणका आधारमा कुरा गर्नुपर्ने उल्लेख गर्दै आवश्यक परे ऐतिहासिक दस्तावेजसमेत अध्ययन गरिने र ब्रिटेनलाई गुहार्ने तर अन्ततः सीमा समस्या दुई देशले नै समाधान गर्ने धारणा राख्नुभयो।
पार्टीभित्र नेतृत्व आकांक्षा राख्नेहरूलाई सम्बोधन गर्दै उहाँले गुट वा समूह निर्माण नगरी जनताको माया, विश्वास र आशीर्वाद जित्न आग्रह गर्नुभयो। ‘पार्टीको नेता बन्न चाहनेले कुनै गुट वा समूह होइन, जनताको माया र आशीर्वाद लिनुपर्छ,’ उहाँले भन्नुभयो।
उहाँले आफ्नो नेतृत्वमा रहेको सरकारलाई ‘एकल पार्टीको सरकार’को संज्ञा दिँदै पार्टीका हरेक कार्यकर्ता परिवर्तनको संवाहक भएको बताउनुभयो। ‘यो पार्टीमा आस्था राख्ने हरेक कार्यकर्ता प्रधानमन्त्रीसरह जिम्मेवार हुनुहुन्छ। तपाईंलाई गर्न मन लागेको राम्रो कामको योजना लिएर आउनुहोस्, पार्टी त्यसलाई कार्यान्वयन गर्न तयार छ,’ उहाँले भन्नुभयो।
प्रधानमन्त्री साहले महाधिवेशनका तीन दिन पार्टीको संगठन, नीति र एकतामा केन्द्रित हुन आग्रह गर्दै त्यसपछि आगामी पाँच वर्ष देशको विकास, सुशासन र समृद्धिका लागि समर्पित भएर काम गर्नुपर्ने आह्वान गर्नुभयो। उहाँले रास्वपाको पहिलो महाधिवेशनले पार्टीलाई संस्थागत गर्दै आगामी राजनीतिक यात्राको स्पष्ट मार्गचित्र तय गर्ने विश्वाससमेत व्यक्त गर्नुभयो।














प्रतिक्रिया दिनुहोस्