काठमाडौं,असार ९ । नेपालको राजनीतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो उदयसँगै एउटा नयाँ भाष्य निर्माण गर्यो-‘हामी पुराना दल जस्ता होइनौँ’, ‘हामी फरक राजनीतिक संस्कृति ल्याउँछौँ’, ‘हामी व्यवस्थापनमा अब्बल छौँ’, ‘हामी परिणाममुखी छौँ’, ‘हामीसँग बहाना होइन, काम छ ।’
यही भाष्यका आधारमा पार्टीले छोटो अवधिमै उल्लेख्य जनसमर्थन पनि प्राप्त गर्यो। तर राजनीति भाषणले होइन, व्यवहारले मापन हुन्छ। चितवनमा आयोजित रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनले यही प्रश्नलाई सबैभन्दा गम्भीर रूपमा उठाएको छ।
उद्घाटन समारोहमा वरिष्ठ नेता बालेन्द्र शाहले रास्वपालाई ‘रकेटको गतिमा चल्ने, कतै ब्रेक नलाग्ने गाडी’ को संज्ञा दिनुभयो। उहाँको भनाई स्पष्ट थियो-रास्वपा परम्परागत दलजस्तो सुस्त, जटिल र विवादग्रस्त होइन; यो तीव्र गतिमा अघि बढ्ने नयाँ शक्ति हो।
उहाँले कार्यक्रममा अन्य राजनीतिक दललाई आफूहरुलाई अर्ति नदिन पनि चेतावनी दिनुभयाे । रास्वपाकाे बारेमा चिन्ता नगर्न पनि आग्रह गर्नुभयाे । रास्वपा सबैभन्दा अब्बल र आफूहरु त्यसका सबैभन्दा माहिर ड्राइभर भएकाे दबी गर्नुभयाे ।
तर राजनीतिक व्यंग्य कहिलेकाहीँ यथार्थले आफैँ सिर्जना गर्छ। उद्घाटन सम्पन्न भएको भोलिपल्टदेखि नै रास्वपाकाे महाधिवेशनको बन्दसत्र सुरु हुन सकेन। प्रतिनिधि व्यवस्थापन, सदस्यता प्रमाणीकरण, परिचयपत्र वितरण र आन्तरिक तयारीका विषयमा देखिएका समस्याका कारण कार्यतालिका प्रभावित भयो। उद्घाटनमा ‘ब्रेक नलाग्ने’ भनिएको रास्वपाकाे गाडी भाेलिपल्टै झ्याप्पै रोकिएको दृश्य सबैले देखे।
यो केवल एउटा कार्यक्रम ढिलो भएको घटना होइन। यसले रास्वपाको राजनीतिक दाबीमाथि नै प्रश्न उठाएको छ।
रास्वपाले आफ्नो सम्पूर्ण राजनीतिक यात्रामा अन्य दलहरूको संगठनात्मक कमजोरीमाथि कठोर टिप्पणी गर्दै आएको छ। एमाले, कांग्रेस र माओवादी केन्द्रका महाधिवेशनहरूमा हुने ढिलाइ, विवाद, व्यवस्थापन कमजोरी र गुटगत प्रतिस्पर्धालाई उदाहरण बनाएर ‘यही पुरानो राजनीति हो’ भन्ने तर्क उसले निरन्तर राख्यो। तर अहिले त्यही परीक्षा आफ्नै घरभित्र आइपुगेको छ।
वैकल्पिक राजनीति भन्नु केवल नयाँ अनुहार होइन। नयाँ राजनीतिक संस्कार, समयपालन, संगठनात्मक दक्षता, पारदर्शी प्रक्रिया र संस्थागत अनुशासन पनि हो। यदि आफ्नै महाधिवेशन तोकिएको समयमा सञ्चालन गर्न कठिन हुन्छ भने ‘हामी फरक छौं’ भन्ने दाबी स्वाभाविक रूपमा परीक्षणमा पर्छ।
हिजाे महाधिवेशनमा सहभागी प्रतिनिधिहरू दिनभर कार्यक्रम सुरु हुने प्रतीक्षामा बस्नुपरेको अवस्था स्वयंले व्यवस्थापनमा कमजोरी रहेको संकेत गर्छ। आज पनि प्रतिनिधिहरु बिहानदेखि कार्यक्रम स्थलमा पुगेका छन् तर कार्यक्रम सुरु हुन सकेकाे छैन । यसबाट अध्यक्ष, महामन्त्री र कोषाध्यक्षका प्रतिवेदन प्रस्तुत गर्ने, तिनमाथि छलफल गर्ने, पारित गर्ने र त्यसपछि नयाँ नेतृत्व चयन गर्ने मूल प्रक्रिया नै प्रभावित भएकाे छ। यसले महाधिवेशनको उद्देश्य र कार्यतालिकालाई नै अनिश्चित बनायो।
यसबीच सामाजिक सञ्जालमा वरिष्ठ नेता बालेन्द्र शाह परिवारसँग चितवनको हात्ती प्रजनन केन्द्र पुगेको दृश्य पनि चर्चामा आयो। सार्वजनिक पदमा रहेका व्यक्तिलाई परिवारसँग समय बिताउने अधिकार अवश्य हुन्छ। तर महाधिवेशनको संवेदनशील समयमा विवादकाे कारण कार्यक्रम अघि बढ्न नसकेकाे समयमा नेतृत्वको सार्वजनिक प्राथमिकताबारे राजनीतिक टिप्पणी हुनु अस्वाभाविक होइन। नेतृत्वबाट कार्यकर्ताले संकट समाधानको अपेक्षा गर्छन्; त्यसैले यस्ता दृश्यहरू राजनीतिक सन्देशका हिसाबले पनि मूल्याङ्कन गरिन्छन्।
यकातिर प्रतिनिधीहरु कहिले कार्यक्रम सुरु हाेला भनेर चितवनकाे गर्मीमा छटपटाइ रहेका थिए । अर्काेतिर रकेटकाे गतिमा पार्टीकाे गाडी चलाउने भाषणा दिने प्रधानमन्त्री छाेरी च्यापेर हात्तीसँग रमाउँदै हुनुहुन्थ्याे ।
रास्वपाले विगतमा परम्परागत दलका कार्यकर्तालाई ‘झोले’, ‘मासुभाते’ र ‘पदका लागि मात्र सक्रिय’ भन्ने आरोप लगाउँदै आएको थियो। त्यस्ता टिप्पणीहरू पार्टीका सभादेखि सामाजिक सञ्जालसम्म दोहोरिएका थिए। तर अहिले आफ्नै महाधिवेशनमा कार्यतालिका प्रभावित हुँदा प्रतिनिधिहरू जम्मा मासुभात खाएर दिनभरि निष्क्रिय बस्नुपरेको अवस्थाले विगतका ती टिप्पणीहरूलाई पुनः सम्झाइदिएको छ।
यहाँ प्रश्न भोजनको होइन, व्यवस्थापनको हो। प्रश्न होटलको होइन, संगठनात्मक क्षमताको हो। प्रश्न कार्यक्रम रोकिनुको कारण र त्यसबाट पार्टीले लिने पाठको हो।
रास्वपाले आफ्नो जन्मदेखि नै आफूलाई नैतिक उच्चताको भाष्य निर्माण गर्दै आएको पार्टीकाे दाबी गर्दै आएकाे छ । खैर साे पार्टीका नेताहरुका विभिन्न काण्डहरु आएका छन् । अदालतमा मुद्दा छ । त्यसकाे समयले मूल्याङ्कन गर्ला। तर अरू दल भ्रष्ट, आफू इमानदार। अरू अक्षम, आफू सक्षम। अरू पुराना, आफू नयाँ। यस्तो भाष्य निर्माण गर्दा जनताले स्वाभाविक रूपमा उच्च मापदण्ड अपेक्षा गर्छन्। त्यसैले रास्वपाबाट हुने सामान्य कमजोरी पनि बढी चर्चाको विषय बन्नु पर्छ ।
राजनीतिमा एउटा पुरानो भनाइ छ-जति ठूलो दाबी, उति ठूलो जिम्मेवारी। यदि रास्वपाले आफूलाई ‘वैकल्पिक’ भन्छ भने उसकाे परीक्षा पनि वैकल्पिक मापदण्डबाटै हुन्छ। यदि उसले अरूलाई समय व्यवस्थापन सिकाउँछ भने उसकाे समय व्यवस्थापन पनि कठोर रूपमा मूल्याङ्कन हुन्छ। यदि उसले अरूलाई संस्थागत कमजोरीको आरोप लगाएकाे छ छ भने आफ्नै संस्थागत क्षमताको परीक्षण झन् कडा हुन्छ। यही कारणले चितवनको महाधिवेशन एउटा साधारण संगठनात्मक कार्यक्रमभन्दा धेरै ठूलो राजनीतिक सन्देश बोकेको देखिन्छ।
यस घटनाले अर्को प्रश्न पनि उठाएको छ-के रास्वपा आन्दोलनको पार्टीबाट संगठनको पार्टी बन्न सफल भएको छ?
निर्वाचन जित्नु एउटा कुरा हो। पार्टी सञ्चालन गर्नु अर्को कुरा। जनलहर सिर्जना गर्नु एउटा कुरा हो। हजारौं प्रतिनिधिको महाधिवेशन व्यवस्थित रूपमा सञ्चालन गर्नु बिल्कुल फरक कुरा हो। आन्दोलनमा भावनाले काम गर्छ; संस्थामा प्रणालीले काम गर्छ। यदि प्रणाली कमजोर भयो भने लोकप्रियता पनि टिकाउ हुँदैन।
रास्वपाले विगतमा अरू दललाई ‘पुरानो सोच’ भन्दै आलोचना गर्यो। तर अहिले आलोचनाको केन्द्र आफैँ बनेको छ। यो लोकतन्त्रको स्वाभाविक प्रक्रिया हो। जसले अरूलाई प्रश्न गर्छ, उसलाई पनि प्रश्न गरिन्छ। जसले जवाफदेहिताको माग गर्छ, उसले आफैँ पनि जवाफ दिनुपर्छ।
चितवनको महाधिवेशनले रास्वपालाई एउटा अवसर पनि दिएको छ। कमजोरी स्वीकार गर्ने, व्यवस्थापन सुधार गर्ने, संगठनलाई संस्थागत बनाउने र आलोचनाबाट सिक्ने। यदि पार्टीले यसलाई आत्मसमीक्षाको अवसर बनायो भने यो अवरोध भविष्यको शक्ति बन्न सक्छ। तर यदि सबै कमजोरीलाई सामान्य घटना भन्दै बेवास्ता गरियो, आलोचनालाई पूर्वाग्रहको संज्ञा दिइयो र आत्मसमीक्षा भएन भने ‘वैकल्पिक राजनीति’ भन्ने नाराले नै विश्वसनीयता गुमाउन सक्छ।
लोकतन्त्रमा सबैभन्दा ठूलो परीक्षा चुनाव मात्र होइन, आफ्नै संगठन सञ्चालन गर्ने क्षमता पनि हो। महाधिवेशन त्यसैको ऐना हो।
रकेटको गति भन्ने उपमा आकर्षक हुन सक्छ। तर रकेट उडाउनुअघि त्यसको इन्जिन, इन्धन, नियन्त्रण प्रणाली र उडान योजना सबै परीक्षण गरिन्छ। अन्यथा प्रक्षेपणपछि दुर्घटना हुन समय लाग्दैन।
रास्वपाको महाधिवेशनले पनि त्यही सन्देश दिएको छ। भाषणले अपेक्षा बढाउँछ, तर विश्वास व्यवहारले जित्छ। अन्ततः नेपाली जनताले नारा होइन, नतिजा हेर्छन्; दाबी होइन, कार्यसम्पादन मापन गर्छन्।
चितवनको यो महाधिवेशन त्यस अर्थमा केवल नेतृत्व चयनको प्रक्रिया होइन, रास्वपाले आफैँ निर्माण गरेको राजनीतिक भाष्यको पहिलो ठूलो परीक्षा पनि हो।













प्रतिक्रिया दिनुहोस्