जनता टाइम्स

१९ भाद्र २०८३, शुक्रबार ०९:२५

श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर श्रद्धा–भक्तिपूर्वक मनाइँदै


काठमाडौं, भदौ १९ वैदिक सनातन धर्मावलम्बीहरूले भगवान् श्रीकृष्णको जन्मोत्सवका रूपमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन्।

भाद्र कृष्ण अष्टमीका दिन मध्यरातमा भगवान् श्रीकृष्णको जन्म भएको धार्मिक विश्वासअनुसार हरेक वर्ष यस दिन जन्माष्टमी मनाउने गरिन्छ। यस अवसरमा देशभरका कृष्णमन्दिरमा पूजाआराधना, प्रवचन, भजन–कीर्तन तथा विभिन्न धार्मिक कार्यक्रम आयोजना भइरहेका छन्।

जन्माष्टमीका दिन महिला तथा पुरुष भक्तजनले व्रत बस्ने र रातभर जाग्राम बसेर श्रीकृष्णको आराधना गर्ने परम्परा रहेको छ।

धार्मिक मान्यताअनुसार भगवान् विष्णुको आठौँ अवतारका रूपमा श्रीकृष्णले अन्याय, अत्याचार र अधर्मको अन्त्य गर्दै सत्य तथा सत्कर्मको पक्षमा मानव समुदायलाई प्रेरणा दिनुभएको थियो। कुरुक्षेत्रको युद्धका क्रममा अर्जुनलाई श्रीकृष्णले दिनुभएको उपदेश श्रीमद्भगवद्गीता हिन्दू धर्मावलम्बीका लागि महत्वपूर्ण धार्मिक ग्रन्थका रूपमा मानिन्छ।

पौराणिक ग्रन्थहरूमा बाल्यकालदेखि नै विभिन्न लीला गर्नुभएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको अन्त्य गर्नुभएको उल्लेख छ।

जन्माष्टमीका अवसरमा आज ललितपुरको मंगलबजारस्थित प्रसिद्ध कृष्णमन्दिरमा विशेष पूजा तथा ठूलो मेला लाग्दैछ। त्यस्तै, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकास्थित नवतनधाममा पनि भक्तजनको उल्लेख्य भीड लाग्ने गरेको छ।

काठमाडौं उपत्यकाका विभिन्न कृष्णमन्दिरमा समेत विशेष पूजाआजा तथा धार्मिक कार्यक्रम आयोजना भइरहेका छन्। विभिन्न धार्मिक संघसंस्थाले श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रासमेत आयोजना गर्ने गरेका छन्।

श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ।