जनता टाइम्स

१९ भाद्र २०८३, शुक्रबार ११:५९

फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते


काठमाडौं, भदौ १९ । पोखरामा आज बिहान भारतीय नम्बर प्लेटको कार फेवातालमा खस्दा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते हुनुभएको छ।

सेतीबाट लेकसाइडतर्फ आउँदै गरेको कारले नियन्त्रण गुमाउँदा पोखरा–१८ गैरीचौतारा घुम्तीबाट बिहान ४ः५० बजे कार फेवातालमा खसेर दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक दीपकप्रसाद रिजालका अनुसार मृत्यु हुनेमा भारतको बिहार प्रदेश, इस्ट चम्पारण जिल्ला रक्सौल घर भएका २६ वर्षीय नवदीपकुमार यादव र पहिचान नखुलेका अर्का एक भारतीय पुरुष हुनुहुन्छ।

उद्धार टोलीले फेवातालको पानीभित्रबाट दुवै जनालाई अचेत अवस्थामा उद्धार गरी उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्‍याएको थियो। अस्पताल पुर्‍याएपछि चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेका प्रहरी निरीक्षक रिजालले जानकारी दिनुभयो।

दुर्घटनामा घाइते भई उद्धार गरिएका भारतको बिहार प्रदेश, मोतिहारी जिल्ला रक्सौल घर भएका २७ वर्षीय अनमोलकुमार यादव र ३३ वर्षीय सुरज यादवको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ।

दुर्घटनाको सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी नायब उपरीक्षक सूर्यबहादुर बोगटीको नेतृत्वमा १५ जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो। यस्तै, सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ हेडक्वाटर कालिका गणबाट सशस्त्र प्रहरी निरीक्षक शरण खड्काको नेतृत्वमा १३ जनाको टोली उद्धार कार्यमा खटिएको थियो।

दुर्घटनामा परेको भारतीय नम्बर प्लेट बीआर ०५ बीबी ६७५९ को कारलाई क्रेनको सहायताले फेवातालबाट निकालेर वडा प्रहरी कार्यालय बैदाममा राखिएको प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।