जनता टाइम्स

१० असार २०८३, बुधबार १९:२५

ब्यापारी अजय सुमार्गीको राहदानी रोक्का, यस्ता छन् कारण


काठमाडौं, असार १० । सञ्चार उद्यमीसमेत रहनुभएका ब्यापारी अजयराज सुमार्गीको राहदानी रोक्का गरिएको छ ।

संदिग्ध आर्थिक कारोबारमा संलग्न रहेको भन्दै प्रधानमन्त्री कार्यालयको विशेष चासो र निर्देशनमा बुधवार अर्थात असार ९ गते सुमार्गीको पासपोर्ट रोक्का गरिएको हो । जग्गा कारोबारी, मुक्ति सिमेण्ट, थाहा सञ्चार, रसुवाको मिनरल वाटरका मालिकसमेत रहनुभएका सुमार्गीविरुद्ध ०७४ सालमा सम्पत्ति शुद्धीकरणमा उजुरी परेको थियो ।

ट्याक्स हेभन मुलुकमा सोल कम्पनी खडा गरी गैरकानुनी लगानी गरेको र सो रकम नेपाल भित्र्याएर आफ्नो खातामा राखेको आरोप सुमार्गीमाथि लाग्दै आएको छ । सम्पत्ति सुछिकरण विभागले सुमार्गीविरुद्ध ०८० सालमा मुद्दा दर्ता गर्ने तयारीसमेत गरेको थियो । तर, राजनीतिक दबाबका कारण रोकिएको चर्चा त्यतिबेला चलेको थियो ।

यस प्रकरणमा अमेरिकाबाट पनि सम्पत्ति शुद्धीकरणबारे जानकारी मागिएकोमा अदालतले अन्य प्रयोजनमा सूचना प्रयोग हुनसक्ने आशंकामा दिन मानेको थिएन । राजनीतिक संरक्षणमा अकूत धन आर्जन गरेको आरोपमा सुमार्गी लामो समयदेखि सम्पत्ति शुद्धीकरण अनुसन्धानको ‘राडार’ मा परे पनि जोगिदै आउनु भएको थियो ।