जनता टाइम्स

११ असार २०८३, बिहीबार १७:२३

एमाले प्रचार कमाण्डरको ठोकुवा : रास्वपाको प्रस्ताव संविधानको आधारभूत संरचनामाथिको प्रहार


काठमाडौं, असार ११ । नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रस्ताव संविधानको आधारभूत संरचनामाथिको प्रहार भएको बताएको छ । एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले सामाजिक सञ्जालमाफृत पार्टीको धारणा सार्वजनिक गर्दै यस्तो ठोकुवा गर्नुभएको हो ।

आचार्यले रास्वपाको महाधिवेशनबाट पारित भएको भनिएको राजनीतिक दस्तावेज नेपालको संविधानको आधारभूत संरचनामाथिको प्रहार भएको टिप्पणी गर्नुभएको छ । रास्वपाको दस्तावेज पारित भएको समाचार सत्य भए त्यसले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मर्मविपरीत रहेको दाबी पनि उहाँको छ । उहाँले उक्त प्रस्तावलाई सस्तो लोकप्रियतावाद ९पपुलिजम० र दक्षिणपन्थी सोचको मिश्रणको संज्ञा दिँदै यसको उद्देश्य जनतामा वर्तमान व्यवस्थाप्रति वितृष्णा फैलाएर मुलुकलाई पुनः अस्थिरताको दुष्चक्रमा धकेल्नु रहेको आरोप लगाउनु भएको छ ।

आचार्यले रास्वपाको प्रस्ताव संविधानको रक्षा, सङ्घीयताको सुदृढीकरण तथा समावेशी लोकतन्त्रको पक्षमा नरहेको जिकिर गरेका छन् । उहाका अनुसार उक्त प्रस्ताव परिवर्तनविरोधी र प्रतिगामी भएकाले यसले मुलुकको हित गर्दैन ।

रास्वपाले आफ्नो प्रथम राष्ट्रिय महाधिवेशनमार्फत राजनीतिक प्रतिवेदन पारित गरेपछि त्यसमा समेटिएका संवैधानिक तथा शासकीय व्यवस्थासम्बन्धी प्रस्तावबारे विभिन्न राजनीतिक दलका नेताहरूले सार्वजनिक प्रतिक्रिया जनाइरहेका छन् ।

आचार्यको भनाई जस्ताको तस्तै

रास्वपाको दस्तावेज पारित भएको हल्ला यदि सत्य हो भने, त्यो सिधै नेपालको संविधानको आधारभूत संरचना (Basic Structure) माथिको प्रहार हो। यो प्रस्ताव सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मर्मविपरीत छ। मूलतः, यो विचार सस्तो लोकप्रियतावाद (पपुलिजम) र दक्षिणपन्थी सोचको मिश्रण मात्र हो, जसको एकमात्र ध्येय जनतामा व्यवस्थाप्रति वितृष्णा जगाएर मुलुकलाई पुनः अस्थिरताको दुष्चक्रमा धकेल्नु हो। ​याे प्रस्ताव संविधानको रक्षा, सङ्घीयताको सुदृढीकरण र समावेशी लोकतन्त्रको पक्षमा छैन । रास्वपाको यो प्रस्ताव परिवर्तनविरोधी र प्रतिगामी भएकाले मुलुकको हित कदापि छैन ।