जनता टाइम्स

१३ असार २०८३, शनिबार १७:२४

मल खरिदमा मूल्य विवाद : भारतभन्दा झण्डै दोब्बर मूल्यमा नेपालले युरिया खरिद गर्दै


काठमाडौं,  असार १३।  नेपाल सरकारले रासायनिक मल खरिद गर्दा भारतको तुलनामा झन्डै दोब्बर मूल्य तिर्ने सहमति गरेको भन्दै कृषि सामग्री कम्पनी लिमिटेडभित्रै प्रश्न उठ्न थालेको छ।

सिङ्गापुरस्थित कम्पनी एसएस आदित्य बिर्ला ग्लोबल ट्रेडिङले नेपाल र भारत दुवै देशलाई रासायनिक मल आपूर्ति गर्ने ठेक्का पाएको छ। तर, भारतलाई प्रतिमेट्रिक टन ५४० अमेरिकी डलरमा उपलब्ध गराएको सोही मल नेपाललाई भने प्रतिमेट्रिक टन ९००.७५ अमेरिकी डलरमा आपूर्ति गर्ने सम्झौता भएको जनाइएको छ।

कृषि सामग्री कम्पनीका एक कर्मचारीका अनुसार एउटै स्रोतबाट आउने मलमा यति ठूलो मूल्य अन्तर हुनु अस्वाभाविक रहेको भन्दै खरिद प्रक्रियामाथि प्रश्न उठाइएको छ। उहाँका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दासमेत नेपालले महँगो दरमा मल खरिद गरिरहेको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार चीनले गत मार्चदेखि रोकिएको युरिया निर्यात पुनः खुला गरेपछि विश्व बजारमा रासायनिक मलको मूल्य घट्दो क्रममा छ। पश्चिम एसियामा तनाव कम हुँदै गएपछि पनि मूल्यमा थप गिरावट आउने अपेक्षा गरिएको छ।

यसबीच, आदित्य बिर्लाले नेपालका वीरगञ्ज, विराटनगर र भैरहवासम्म ३० हजार मेट्रिक टन मल आपूर्ति गर्ने ठेक्का पाएको छ। उक्त ठेक्काअनुसार नेपाल सरकारले कम्पनीलाई करिब २ करोड ७० लाख २२ हजार ५०० अमेरिकी डलर भुक्तानी गर्नेछ।

यस्तै, नेपाल–भारत सरकारबीचको (जीटुजी) सम्झौताअनुसार भारतले नेपाललाई ५० हजार मेट्रिक टन मल उपलब्ध गराउनेछ। नेपालले ८० हजार मेट्रिक टन मल माग गरे पनि तत्कालका लागि ५० हजार मेट्रिक टन मात्रै उपलब्ध हुने भएको छ।

सम्झौताअनुसार रकम भुक्तानी भएको १२० दिनभित्र मात्रै मल आपूर्ति हुने व्यवस्था रहेकाले भारतबाट आउने मल पनि धान रोपाइँको मुख्य सिजनमा किसानले नपाउने अवस्था देखिएको छ।

कृषि क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले मल खरिद प्रक्रियामा मूल्य निर्धारण र आपूर्ति व्यवस्थाबारे पारदर्शी छानबिन गर्न सरकारसँग माग गरेका छन्।