जनता टाइम्स

१४ असार २०८३, आईतवार १२:२४

‘सीमा विवादबारे प्रधानमन्त्रीको भनाइ नै नेपालविरुद्धको प्रमाण नबनोस’


काठमाडौं, असार १४ । नेकपा एमालेका सांसद पुष्पराज कँडेलले सीमा विवादबारे प्रधानमन्त्रीको भनाइ नै नेपालविरुद्धको प्रमाण नबनोस भन्दै तत्काल हटाउनुपर्ने बताउनु भएको छ । प्रधानमन्त्री बालेन्द्र शाहले संसद्‍मा दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै कँडेलले यस्तो माग गर्नुभएको हो ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै कँडेलले भन्नुभयो, सीमा विवादबारे प्रधानमन्त्रीको भनाइ नै नेपालविरुद्धको प्रमाण बन्न सक्छ, त्यो अवस्था नआवस ।’ नेपालबिरुद्धको प्रमाण बन्न नदिनका लागि प्रधानमन्त्री शाहले माफी माग्नुपर्ने वा संसद्को रेकर्डबाट हटाउनुपर्ने सांसद कँडेलको भनाई छ । कँडेलले भविष्यमा नेपाल–भारतबीच सीमा सम्बन्धी वार्ता भए प्रधानमन्त्रीको यही अभिव्यक्ति नेपालविरुद्ध प्रमाण हुनसक्ने बताउनु भयो।

‘राष्ट्रघाती अभिव्यक्तिको लागि प्रधामन्त्रीले देशसँग माफी माग्नु पर्दछ। हामीले यो कुरा किन उठाइरहेको छौं भने कुनै दिन दुई पक्षबिच वार्ता भयो भने प्रधानमन्त्रीको भनाइ नेपालको विरुद्धको प्रमाण हुन सक्छ,’ सांसद कँडेलले भन्नुभयो । उहाँले प्रधानमन्त्रीले नेपालले भारतको भूमि मिचेको भन्ने आशयको अभिव्यक्ति दिएको भन्दै त्यसले गम्भीर प्रश्न उठाएको पनि बताउनु भयो ।