जनता टाइम्स

१५ असार २०८३, सोमबार १७:२२

बिष्णु पौडेलबिरुद्ध भेटिएन कुनै प्रमाण : सरकार गरिरहेछ म्याद थप्दै थुनेर सार्वजनिक बेइज्जतसहित मानमर्दन


काठमाडौं, असार १५ । पूर्वउपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेललाई सार्वजनिक बेइज्जत गरेर अपमान गर्न मात्रै पक्राउ गरिएको तथ्य उजागर भएको छ ।

सम्पत्ति सुद्धिकरण बिभागले पक्राउ गरेर अनुसन्धान गरेको बहानामा ‘भ्रष्टाचारीलाई नछाडने’ भन्दै जनतामा छवि धुमिल बनाउन र अफवाह फैलाएर आफ्नो योजना पूरा गर्ने नीतिमा बालेन सरकार लागेको पाइएको हो ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पौडेललाई जरुरी पक्राउ पूर्जी दिएर असार ८ गते सुर्खेतबाट पक्राउ गरी माइक्रोमा राखेर स्थलमार्गबाट काठमाडौं ल्याइएको थियो । सम्पत्ति शुद्धीकरण विभागले यसअघि २० दिन थुनामा राख्न अनुमति मागेको थियो तर असार ९ मा पौडेललाई अनुसन्धानका लागि ७ दिनको म्याद थपिएको थियो ।

सात दिनको समयमा बिभागले पौडेलबिरुद्ध उजुरीमा भनिएका कुनै पनि कुरामा संलग्न नरहेको देखिएको छ । सरकार बनेकै दिन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेको सरकारले सो पार्टीका प्रभावशाली नेता भएकै कारण दोस्रो शिकार उपाध्यक्ष पौडेललाई बनाएको देखिएको छ ।

स्रोतका अनुसार सरकारमा रहेकाहरुबाटै उजुरी दिन लगाएर पौडेललाई पक्राउ गरिएको समेत देखिएको छ । बिभागले पौडेलबिरुद्ध एउटा झिनो त्यान्द्रो पनि प्रमाण फेला नपारेपछि म्याद थप्दै थुन्ने र भ्रष्टाचारी भन्दै प्रचार गरेर बदनाम गराउने योजना देखिएको हो ।

बिशेष अदालतमा सोमवार म्याद थपका लागि उपस्थित गराउँदासमेत बिभागले अनुसन्धान जारी रहेको भन्दै अनुमति मागेको छ ।