युएई, असार १९ । युनाइटेड अरब इमिरेट्स (यूएई) मा ३० मिलियन दिराम अर्थात एक अर्ब २३ करोड रुपैयाँ) को चिठ्ठा प्राप्त गरेका पाँच नेपाली युवाले नेपालमा रकम पठाउनका लागि सरकारसँग सहयोग मागेका छन् ।
उनीहरूले बिहीबार यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीलाई भेटेर वैधानिक तरिकाले सो रकम नेपाल पठाउन सहयोग मागेका हुन् । भाग्यशाली चिठ्ठा प्राप्त गर्ने पाँचजना गोरखाका तैयव खान पाल्पाका सन्दीप बिक, नवलपुरका युवराज गैरे, रुपन्देहीका सुदिप न्यौपाने र कास्कीका शिशिर पौडेल बिहीबार यूएईको अबुधावीस्थित नेपाली दूतावास पुग्नुभएको थिया ।
उहाँहरुले राजदूतसँग बैधानिक रुपमा नेपालमा रकम पठाउन सघाइ दिन आग्रह गर्नुभएको छ । पाँच नेपाली युवाले ‘द यूएई लोट्ट्री’ मार्फत उनीहरूले ३० मिलियन दिरामको चिठ्ठा प्राप्त गर्नुभएको थियो ।
राजदूतसँगको भेटघाटमा उहाँहरूले चिठ्ठामार्फत प्राप्त रकमलाई वैधानिक रूपमा नेपाल पठाउन र सो रकमलाई नेपालमा लगानी गर्न इच्छुक रहेको बताएको अबुधावीस्थि नेपाली दूतावासले जनाएको छ ।
‘उहाँहरूले उक्त रकमलाई वैधानिक रूपमा नेपाल भित्राउन दूतावासमार्फत गर्नुपर्ने आवश्यक सहयोग प्रदान हुन तथा नेपाल सरकारद्वारा सहजीकरण गरिदिन आग्रह गर्नुभयो,’ दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
भेटघाटमा राजदूत क्षेत्रीले उनीहरूलाई लगानीका विभिन्न सम्भाव्यताहरूको अध्ययन गरी नेपालको विकास र समृद्धिका क्षेत्रमा लगानी गर्न सुझाव दिनुभएको छ । चिठ्ठामार्फत भएको रकमलाई वैधानिक रूपमा नेपाल पठाउन राजदूतावासको पूर्ण सहयोग रहने जानकारी पनि राजदूत क्षेत्रीले गराउनु भएको बिज्ञप्तिमा उल्लेख छ ।













प्रतिक्रिया दिनुहोस्