जनता टाइम्स

२२ असार २०८३, सोमबार २०:५३

एडीबीसँग करिब २५ अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सम्झौता


काठमाडौं, असार  २२ । नेपाल सरकार र एसियाली विकास बैंक (एडीबी) बीच दुईवटा विकास आयोजनाका लागि कुल १६ करोड ५० लाख (१६५ मिलियन) अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको छ। नेपाल राष्ट्र बैंकको असार २२ गतेको विनिमयदरअनुसार यो रकम करिब २५ अर्ब रुपैयाँभन्दा बढी हुन आउँछ।

सोमबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा नेपाल सरकारका तर्फबाट अर्थ सचिव डा. घनश्याम उपाध्याय र एडीबीका तर्फबाट नेपालस्थित आवासीय नियोगका देशीय निर्देशक आनो कोश्वाले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो। हस्ताक्षर समारोहमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र एडीबीका अध्यक्ष मासातो कान्डाको उपस्थिति रहेको थियो।

सम्झौताअनुसार ११ करोड ५० लाख अमेरिकी डलर नेपालको एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका लागि परिचालन गरिनेछ। उक्त रकम स्थानीय तहमा खानेपानी आपूर्ति विस्तार, ढल व्यवस्थापन तथा आवश्यक पूर्वाधार निर्माणमा खर्च गरिने अर्थ मन्त्रालयले जनाएको छ।

त्यसैगरी, ‘दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) लजिस्टिक्स सुधार कार्यक्रम–सबप्रोग्राम २’ अन्तर्गत ५ करोड अमेरिकी डलर बजेटरी सहायताका रूपमा प्राप्त हुनेछ। यो सहयोग भन्सार प्रणाली, लजिस्टिक्स सेवा तथा व्यापार सहजीकरणका क्षेत्रमा गरिएको सुधारका आधारमा उपलब्ध गराइएको हो।

सम्झौतापछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको आर्थिक तथा पूर्वाधार विकासमा एडीबीले पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा दुई पक्षबीचको साझेदारी अझ प्रभावकारी बन्ने विश्वास व्यक्त गर्नुभयो।

एडीबीका अध्यक्ष मासातो कान्डाले नेपालसँगको करिब छ दशक लामो सहकार्य स्मरण गर्दै नेपालको आर्थिक तथा विकाससम्बन्धी चुनौती सामना गर्न बैंक निरन्तर सहयोगी रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले नेपालको विकास प्राथमिकता र एडीबीका रणनीतिक उद्देश्यबीच उच्च स्तरको समानता रहेको उल्लेख गर्दै आगामी सहकार्यलाई अझ सुदृढ बनाइने बताउनुभयो।