जनता टाइम्स

२४ असार २०८३, बुधबार १७:४४

सिभिल अस्पतालमा झण्डै ३ करोडको औषधि भ्रष्टाचार आरोप, ८ जनाविरुद्ध अख्तियारको मुद्दा


काठमाडौं, असार  २४ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) नयाँबानेश्वरको फार्मेसी शाखामा औषधि खरिद तथा व्यवस्थापनमा भएको भनिएको २ करोड ९१ लाख रुपैयाँभन्दा बढीको भ्रष्टाचार प्रकरणमा ८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारका अनुसार अस्पतालका फर्मासिस्ट तथा स्टोरकिपरहरूले औषधि आपूर्तिकर्तासँगको मिलेमतोमा औषधि आपूर्ति नै नगरी बिल–बिजक जारी गरी सरकारी रकम भुक्तानी गरेको आरोप लागेको छ। अनुसन्धानका क्रममा अस्पतालको स्टोर तथा भर्‍याङमा करोडौँ रुपैयाँ मूल्यका म्याद गुज्रिएका औषधिहरू समेत फेला परेको आयोगले जनाएको छ।

अनुसन्धानबाट अस्पतालको कम्प्युटर प्रणालीमा मौज्दात देखिएका औषधिहरू वास्तविक रूपमा स्टोरमा नभेटिएको, साथै अस्पताल फार्मेसी सेवा निर्देशिका, २०७२ अनुसार प्रत्येक आर्थिक वर्षको अन्त्यमा अनिवार्य रूपमा गरिनुपर्ने सन्तुलन परीक्षण (ट्रायल ब्यालेन्स) समेत नगरिएको पाइएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो।

त्यसैगरी, बिक्री नभएका तथा चार महिना मात्र म्याद बाँकी रहेका औषधिहरू आपूर्तिकर्ता कम्पनीलाई फिर्ता गरी सोधभर्ना लिन कार्यकारी निर्देशकबाट दिइएको निर्देशनसमेत सम्बन्धित शाखाले कार्यान्वयन नगरेको आरोप छ।

यस प्रकरणमा अख्तियारले फार्मेसी अधिकृत दीपा ढुङ्गाना, फार्मेसी युनिट इन्चार्ज लबेन्द्र कुँवर, दिनेश पन्त र दीपक सापकोटा, वरिष्ठ फार्मेसी सहायक विनोद पोखरेल र शर्मीला श्रेष्ठ, तथा फार्मेसी सहायक केशवराज न्यौपाने र सन्दीप तिवारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले सरकारी रकम हिनामिना भएको दाबी गर्दै प्रतिवादीहरूबाट बिगो असुल, जरिवाना तथा प्रचलित कानुनबमोजिम सजायको माग गरेको जनाएको छ।