काठमाडौं, असार २४ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) सँगको दुई घण्टा लामो सम्वादपछि नीजि क्षेत्रका अगुवाहरू उत्साहित बनेका छन । बुधवार प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री शाहसँग अनौपचारिक छलफल गरेका ब्यवसायीले आफूहरूको कुरामा निकै गम्भीर भएर अव त्यस्तो हुन्न भनेपछि उद्योगी व्यवसायीहरु उत्साहित भएका हुन ।
प्रधानमन्त्री शाहले निजी क्षेत्र सरकारभन्दा धेरै टाढा पुगेको अनुभुति आफू निकट सांसद तथा गोल्डस्टारकी मालिक बिदुषी राणाले सुनाएपछि उहाँकै संयोजनमा बुधवार छलफलका लागि तयार हुनुभएको थियो । आफै उद्योगी भएको भन्दै राणाले उद्योगी ब्यवसायी सरकारबाट आतंकित बनेको चित्र प्रधानमन्त्री शाहसामू राखेपछि उहाँले नै सवै संगठनका नेतृत्वलाई छलफलका लागि संयोजनको जिम्मा दिनुभएको थियो ।
सोही अनुसार राणाले प्रधानमन्त्री शाह र उहाँको सचिवालयका टीमसहित निजी क्षेत्रका प्रतिनिधिहरुसँग पहिलोपटक संवाद गराउनु भएको हो । प्रधानमन्त्रीसँग संवादका लागि उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ, महासंघकै उद्योग समितिका सभापति उज्ज्वलकुमार श्रेष्ठ, नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवाल र महानिर्देशक डा घनश्याम ओझा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल र वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा प्रधानमन्त्री कार्यालय पुग्नुभएको थियो ।
बुधवारको छलफलमा प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीहरुलाई आफ्नै कार्यकक्षमा राखेर लामो गुनासो सुन्नुभएको छ । सो छलफलमा प्रधानमन्त्री शाहले आफू अनौपचारिक छलफलका लागि इच्छुक रहेको र समस्या पहिचानमा जोड दिन चाहेको बताएर बार्ता अघि बढाइएको थियो ।
‘अनौपचारिक कुराकानी होस् भनेर नै मैले कार्यकक्षमै तपाईंहरुलाई बोलाएको हुँ । बैठक कक्षमा बस्दा बढी औपचारिक भइन्छ, समस्यातिर ध्यानै जान्न,’ ब्यवसायीसँग प्रधानमन्त्री शाहको भनाई थियो । उहाँको सो भनाईपछि ब्यवसायी पनि खुलेर प्रस्तुत भएका थिए ।
सो क्रममा सवैले ‘सरकार पहिला थुन्ने अनि कुरा सुन्ने’ बाटोमा लागेकोले ब्यवसायिक बातावरण नै आतंकित बनेको भन्दै रोक्नुपर्नेमा जोड दिएका थिए । ब्यवसायीहरुले प्रधानमन्त्रीसँग भेट्न नपाएको, निजी क्षेत्रको मनोबल खस्किएको, धरपकड गरेको, बजारमा माग खुम्चिएको, उद्योग चलाउन भएको समस्या, अधिकतम खुद्रा मूल्यको विवाद, जग्गाको हदबन्दीदेखि राष्ट्र बैंकले मंगलबार जारी गरेको मौद्रिक नीतिससम्मका विषयमा खुलेर आफ्ना गुनासो पनि राखे ।
उद्योगीहरुको कुरा संयमपूर्वक सुनेका प्रधानमन्त्री शाहले कहाँ कहाँ के के समस्या छन्, ती सबै लिखित रुपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उपलब्ध गराउन भन्नुभएको भेटपछि सवैजसोले प्रतिक्रिया दिएका छन ।
‘कहाँ–कहाँ के–कस्ता सुधार आवश्यक छन्, त्यसका ठोस र विशिष्ट प्रस्ताव लिएर आउनुस्। सरकार निजी क्षेत्रको साथमा छ र आवश्यक निर्णय गर्न तयार छ,’ ब्यवसायीसँग प्रधानमन्त्री शाहको भनाई थियो । सो क्रममा उहाँले अव ब्यवसायीलाई नथुन्ने जानकारीसमेत गराउनु भएको थियो ।
‘अर्थतन्त्रको ड्राइभिङ सिटमा निजी क्षेत्र रहेकाले सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न चाहेको छ, सरकारले थुन्दैन, तपाईहरु नै अर्थतन्त्रको ड्राइभिङ सिटमा बस्नोस,’ ब्यवसायीहरूसँग प्रधानमन्त्रीको भनाई थियो ।













प्रतिक्रिया दिनुहोस्