जनता टाइम्स

२८ असार २०८३, आईतवार १२:३०

वाणिज्य बैंकको नाफा १९ प्रतिशतले बढ्यो, जेठसम्म साढे ६४ अर्ब कमाइ


काठमाडौं, असार २८। वाणिज्य बैंकहरूको नाफामा उल्लेख्य सुधार देखिएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्म आइपुग्दा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूको कुल नाफा करिब १९ प्रतिशतले वृद्धि भएको छ।

बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको जेठसम्म २० वटा वाणिज्य बैंकले कुल ६४ अर्ब ४७ करोड २१ लाख रुपैयाँ नाफा कमाएका छन्। गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा बैंकहरूको कुल नाफा ५३ अर्ब ९८ करोड ३४ लाख रुपैयाँ रहेको थियो।

यस अवधिमा सबैभन्दा बढी नाफा कमाउने बैंकको सूचीमा नबिल बैंक अग्रस्थानमा रहेको छ। नबिल बैंकले जेठ मसान्तसम्म ८ अर्ब ४९ करोड २२ लाख रुपैयाँभन्दा बढी नाफा कमाएको छ। गत वर्षको सोही अवधिमा बैंकको नाफा ६ अर्ब ४० करोड रुपैयाँभन्दा बढी थियो।

त्यस्तै, ग्लोबल आइएमई बैंकले ५ अर्ब ९७ करोड रुपैयाँभन्दा बढी नाफा आर्जन गरेको छ। कुमारी बैंकले ४ अर्ब रुपैयाँभन्दा बढी, एभरेष्ट बैंकले ४ अर्ब १२ करोड रुपैयाँभन्दा बढी र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४९ करोड रुपैयाँभन्दा बढी नाफा कमाएका छन्।

वित्तीय विवरणअनुसार एनएमबी बैंकले ३ अर्ब ६३ करोड रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ८ करोड रुपैयाँ, नेपाल बैंकले ३ अर्ब ३२ करोड रुपैयाँ र सानिमा बैंकले ३ अर्ब १२ करोड रुपैयाँभन्दा बढी नाफा आर्जन गरेका छन्।

यस्तै, स्ट्यान्डर्ड चार्टर्ड बैंक, माछापुच्छ्रे बैंक, लक्ष्मी सनराइज बैंक र सिद्धार्थ बैंकले पनि दुई अर्ब रुपैयाँभन्दा बढी नाफा कमाएका छन्। प्रभु बैंक, नेपाल एसबिआई बैंक, कृषि विकास बैंक र सिटिजन्स बैंकको नाफा पनि अर्ब रुपैयाँभन्दा माथि रहेको विवरणमा उल्लेख छ।

तथ्यांकअनुसार अधिकांश बैंकको नाफामा सुधार देखिए पनि केही बैंकको नाफा भने गत वर्षको तुलनामा घटेको देखिन्छ। विशेषगरी नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र कृषि विकास बैंकलगायत केही बैंकको नाफामा दबाब देखिएको छ।

समग्रमा बैंकहरूको नाफा गत वर्षको जेठसम्मको तुलनामा १० अर्ब रुपैयाँभन्दा बढीले वृद्धि भएको छ। बैंकिङ क्षेत्रमा कर्जा असुलीमा आएको सुधार, ब्याज खर्च व्यवस्थापन तथा अन्य सञ्चालन आम्दानीमा भएको वृद्धिले नाफा बढाउन सहयोग पुगेको देखिन्छ।

चालु आर्थिक वर्षको अन्तिम महिना बाँकी रहँदा वाणिज्य बैंकहरूको नाफा अझै बढ्ने अनुमान गरिएको छ। जेठसम्मको वित्तीय विवरणले बैंकिङ क्षेत्रको नाफामा सुधारको संकेत गरेको छ।