जनता टाइम्स

२९ असार २०८३, सोमबार १८:५३

पाँचौंपटक थपियो विष्णु पौडेलको म्याद थप, अझै ३ दिन हिरासतमा राखिने


काठमाडौं, असार २९ । विशेष अदालतले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट पक्राउ परेका एमाले उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री विष्णु पौडेललाई थप ३ दिन थुनामा राख्न अनुमति दिएको छ ।

न्यायाधीशहरू नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले दुईतर्फी बहस सकिएपछि विभागलाई ३ दिनको थुना अनुमति दिएको हो । एमाले उपाध्यक्ष पौडेललाई सोमवारको यो म्याद थपसहित अदालतबाट पाचौँपटक न्यायिक हिरासतमा राख्न अनुमति प्राप्त भएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि भन्दै पौडेललाई असार ८ गते सुर्खेतबाट पक्राउ गरी रातारात स्थलमार्गबाट काठमाडौं ल्याइएको थियो ।

पौडेलमाथि व्यवसायी दीपक भट्टलाई गैरकानुनीलाभ पुर्याउन सहयोगी भूमिका निर्वाह गरेको आरोप लगाइएको छ । विशेष अदालतमा थुना म्याद माग गर्ने क्रममा सरकारी वकिलले श्रीराम टोबाको प्रालिको २० प्रतिशत शेयर हिमालयन एसेष्ट म्यानेजमेन्ट प्रालिले किनेको विषय शंकास्पद रहेको दाबी गरेका छन् ।

विभागले हिमालय एजेष्ट म्यानेजमेन्ट प्रालिको किनबेचका बिषयमा अनुसन्धान गरेको थियो । उक्त कम्पनीले विभिन्न ठाउँमा गरेको लगानीको वास्तविक स्वामित्वकर्तामाथि शंका उत्पन्न भएपछि पौडेल पक्राउ गर्नु परेको दाबी सरकारी वकीलले गरेका छन । पौडेललाई प्रधानमन्त्रीको सचिवालय टीमको ठाडो आदेशमा पक्राउ गरिएको थियो ।