काठमाडौं, साउन ६ । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले व्यवसायलाई प्रविधिमैत्री बनाउन वेबसाइट र मोबाइल एप सार्वजनिक गरेको छ । महासंघले मंगलवार अर्थात साउन ५ गते औपचारिक रुपमा वेबसाइट र मोबाइल एप सुरु गरेको हो ।
महासंघले सुनचाँदी व्यवसायीहरूको व्यवसायिक आवश्यकता, दैनिक कारोबार व्यवस्थापन तथा सूचना प्रवाहलाई सहज, सुरक्षित तथा प्रविधिमैत्री बनाउने उद्देश्यले महासंघको आधिकारिक वेबसाइट तथा मोबाइल एप निर्माण गरिएको बताएको छ ।
महासंघको सचिवालय कार्यालय, बोगेनभिल्ला, त्रिपुरेश्वर, काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कम्लेश ुमार अग्रवालले वेबसाइट तथा मोबाइल एपको औपचारिक शुभारम्भ गर्नुभएको थियो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि अग्रवालले सूचना प्रविधिको प्रयोगमार्फत व्यवसायलाई आधुनिक, व्यवस्थित तथा पारदर्शी बनाउने महासंघको प्रयास समयानुकूल, दूरदर्शी र अनुकरणीय रहेको बताउनुभयो । उहाँले डिजिटल प्रविधिको प्रभावकारी प्रयोगबाट व्यवसाय सञ्चालन, सेवा प्रवाह तथा सूचना आदानप्रदानलाई अझ सहज, छिटो र विश्वसनीय बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा महासंघका अध्यक्ष किसान सुनारले वेबसाइट तथा मोबाइल एप निर्माणको उद्देश्य, आवश्यकता, विशेषता तथा यसबाट व्यवसायीहरूले प्राप्त गर्ने सेवा–सुविधा बारे विस्तृत जानकारी गराउनु भयो । उहाँले महासंघलाई प्रविधिमैत्री संस्थाको रूपमा विकास गर्दै सदस्य व्यवसायीहरूलाई एउटै डिजिटल प्लेटफर्ममार्फत आवश्यक सूचना, सेवा तथा व्यवसाय व्यवस्थापनसम्बन्धी सुविधा उपलब्ध गराउने लक्ष्य रहेको बताउनुभयो ।
महासंघले सार्वजनिक गरेको वेबसाइट तथा मोबाइल एपमार्फत सदस्य व्यवसायीहरूले सुन तथा चाँदीको दैनिक बजार मूल्य, महासंघका सूचना तथा परिपत्र, ऐन, नियम तथा निर्देशिका, कार्यक्रमसम्बन्धी जानकारी, संस्थागत तथा व्यवसाय व्यवस्थापनसँग सम्बन्धित सेवा तथा अन्य आवश्यक सूचनाहरू सहज रूपमा प्राप्त गर्न सक्ने जनाइएको छ । यस डिजिटल प्रणालीले व्यवसाय सञ्चालनलाई थप व्यवस्थित, सुरक्षित, पारदर्शी र प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुग्ने महासंघको विश्वास रहेको छ ।

कार्यक्रममा भौतिक तथा अनलाइन माध्यमबाट महासंघमा आबद्ध सदस्य संघका अध्यक्ष, पदाधिकारी तथा प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो । सहभागीहरूले वेबसाइट तथा मोबाइल एपको प्रभावकारी प्रयोग, यसको उपयोगिता, व्यवसायीमैत्री सेवाको विस्तार तथा आगामी दिनमा थप सेवा–सुविधा समावेश गर्नुपर्ने विषयमा रचनात्मक सुझाव तथा धारणा प्रस्तुत गरेका थिए ।
महासंघका प्रथम उपाध्यक्ष द्वारिका विश्वकर्माले धन्यवाद ज्ञापन गर्दै कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने प्रमुख अतिथि, अतिथिहरू, सहभागी सदस्य संघका अध्यक्ष तथा प्रतिनिधिहरू, सञ्चारकर्मी, वेबसाइट तथा मोबाइल एप निर्माणकर्ता फेवा टेक्नोलोजी प्रा.लि.का सम्पूर्ण प्राविधिक टोली तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सबैप्रति आभार प्रकट गर्नुभयो । उहाँले महासंघले सञ्चालनमा ल्याएको वेबसाइट तथा मोबाइल एपको अधिकतम उपयोग गरी सुनचाँदी तथा आभुषण व्यवसायलाई थप व्यवस्थित, सुरक्षित, पारदर्शी तथा प्रविधिमैत्री बनाउन सम्पूर्ण व्यवसायीलाई आग्रह गर्नुभयो ।
महासंघले आगामी दिनमा पनि सूचना प्रविधिको अधिकतम उपयोगमार्फत सुनचाँदी तथा आभूषण व्यवसायलाई आधुनिक, प्रतिस्पर्धी र प्रविधिमैत्री बनाउने अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको महासचिव निरबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।














प्रतिक्रिया दिनुहोस्