काठमाडौं, साउन १४ । अर्जेन्टिना फुटबल संघविरुद्ध अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अनुशासनात्मक मुद्दा दर्ता गरेको छ ।
विश्वकप फाइनलपछि स्पेनका खेलाडीहरूमाथि कुटपिट गरेको आरोपमा अर्जेन्टिनाका दुई खेलाडी तथा सेमिफाइनलमा इंग्ल्यान्डलाई पराजित गरेपछि फ्याकल्यान्ड टापुसम्बन्धी राजनीतिक ब्यानर प्रदर्शन गरेको घटनालाई लिएर फिफाले अनुशासनात्मक मुद्दा दर्ता गरेका हो ।
बुधबार फिफाले सार्वजनिक गरेको अनुशासनात्मक मुद्दाहरूको सूचीमा अर्जेन्टिनी समर्थकहरूले लगाएका भनिएका भेदभावपूर्ण नारा र इसारा, विश्वकप फाइनलपछि सहायक प्रशिक्षकद्वारा गरिएको भनिएको कुटपिट तथा प्रतियोगिताका विभिन्न खेलका क्रममा दर्शकहरूले मैदानतर्फ प्रहार गरेको सामग्रीलगायत घटनालाई पनि समावेश गरिएको छ ।
जुलाई १९ मा स्पेनले १–० को जित हासिल गरेपछि भएको झडपका क्रममा अर्जेन्टिनाका मिडफिल्डर लिआन्द्रो बारेदेसले कुटपिटसम्बन्धी तीन, डिफेन्डर नहुएल मोलिनाले दुई तथा सहायक प्रशिक्षक रोबर्टो आयालाले एउटा आरोपको सामना गरिरहेका छन् ।
मोलिना र थियागो अल्माडामाथि खेलभावनाविपरीत व्यवहार गरेको आरोप लगाइएको छ । यही आरोप स्पेनका खेलाडी गाभीमाथि पनि लगाइएको छ ।
सेमिफाइनलमा इंग्ल्यान्डलाई २–१ ले पराजित गरेपछि अर्जेन्टिनाका खेलाडीहरूले ‘लास माल्भिनास सोन अर्जेन्टिनास’ अर्थात् ‘माल्भिनास अर्जेन्टिनाकै हो’ भन्ने नारा लेखिएको ब्यानर प्रदर्शन गरेका थिए ।
अर्जेन्टिनाले फ्याकल्यान्ड टापुलाई ‘इस्लास माल्भिनास’ नामले सम्बोधन गर्छ । सन् १९८२ मा तत्कालीन अर्जेन्टिनी सैन्य शासनको आदेशमा उक्त टापुमाथि आक्रमण गरिएको थियो, जसले १० सातासम्म चलेको युद्धको रूप लिएको थियो । अन्ततः उक्त युद्धमा बेलायत विजयी भएको थियो ।
बेलायती अधिकारीहरूले यस घटनाको अनुसन्धान गर्न फिफासमक्ष आग्रह गरेका थिए । त्यसपछि फुटबलको सर्वोच्च निकायले बुधबार औपचारिक रूपमा गैर–खेलकुद प्रकृतिका प्रदर्शनका लागि खेलकुद प्रतियोगिताको प्रयोग गरिएको आरोप लगाएको हो ।
फिफाले आरोप लागेका सबै पक्षलाई आफ्नो धारणा प्रस्तुत गर्ने अवसर दिइएको जनाएको । फिफा अनुशासन समितिले तत्काल निर्णय सार्वजनिक गर्ने जनाएको छ । अलजजिरा













प्रतिक्रिया दिनुहोस्