काठमाडौं, साउन १५ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समुदायबीच भएको विवाद हिंसात्मक बन्दै गएपछि त्यसको प्रभाव मधेस प्रदेशका विभिन्न जिल्लामा यथावत छ। सुरक्षा अवस्था संवेदनशील बनेसँगै मधेशका चार जिल्लामा जारी कर्फ्यु आदेश आज पनि यथावत् राखिएको छ।
धार्मिक तथा साम्प्रदायिक तनाव बढेपछि जिल्ला सुरक्षा समितिको सिफारिसमा जिल्ला प्रशासन कार्यालय सिरहा, धनुषा, पर्सा र सप्तरीले जारी गरेको कर्फ्यु आदेशलाई निरन्तरता दिने निर्णय गरेका हुन्।
सुनसरीको देवानगञ्ज र हिजो सिरहाको गोलबजारबाट सुरु भएको हिंसात्मक घटनाका क्रममा विभिन्न स्थानमा तोडफोड, आगजनी, लुटपाट तथा झडपका घटना भएका छन्। घटनामा हालसम्म मधेस प्रदेशमा तीन जनाको मृत्यु भएको छ भने दर्जनौँ व्यक्ति घाइते भएका छन्। घाइतेमध्ये नेपाल प्रहरीका दुई डीएसपीसहित २२ जना प्रहरी रहेको सुरक्षा स्रोतले जनाएको छ।
स्थिति थप जटिल हुन नदिन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनालाई उच्च सतर्कतासाथ परिचालन गरिएको छ। संवेदनशील क्षेत्रमा सुरक्षा गस्तीसमेत बढाइएको छ।
स्थानीय प्रशासनले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गरेको छ। साथै, सुरक्षा अवस्थाको निरन्तर मूल्याङ्कन भइरहेको जनाउँदै शान्ति–सुरक्षाको अवस्था सामान्य नभएसम्म कर्फ्यु आदेश यथावत् रहने बताइएकाे छ ।
प्रशासनले अफवाहमा विश्वास नगर्न, सामाजिक सञ्जालमा भ्रामक सामग्री नफैलाउन तथा कुनै पनि शंकास्पद गतिविधिबारे तत्काल सुरक्षा निकायलाई जानकारी गराउन सर्वसाधारणसँग अनुरोध गरेको छ।













प्रतिक्रिया दिनुहोस्