काठमाडौं, साउन १५ । मधेस प्रदेशका विभिन्न क्षेत्रमा पछिल्ला दिनमा देखिएका हिंसात्मक घटनापछि नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य, कोशी र मधेस प्रदेशका जनप्रतिनिधि तथा पार्टी नेतृत्वसँग आपत्कालीन छलफल गर्नु भएकाे छ ।
काठमाडौंमा उपलब्ध पदाधिकारी तथा केन्द्रीय सदस्यको प्रत्यक्ष सहभागिता र कोशी तथा मधेश प्रदेशका प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि, जिल्ला कार्यसमिति र पालिका तहका नेतृत्वको भर्चुअल सहभागितामा सम्पन्न बैठकमा मधेसको पछिल्लो सुरक्षा अवस्था, हिंसात्मक घटनाको प्रभाव, स्थानीय जनजीवन तथा शान्ति–सुरक्षा कायम गर्ने उपायबारे विस्तृत छलफल भएको जनाइएको छ।
बैठकलाई सम्बोधन गर्दै सभापति थापाले सामाजिक सद्भाव, शान्ति र आपसी विश्वास कायम राख्नु अहिलेको सबैभन्दा ठूलो राष्ट्रिय जिम्मेवारी भएको उल्लेख गर्दै पार्टीका सबै तहका समिति, नेता तथा कार्यकर्तालाई संयमित, जिम्मेवार र जनउत्तरदायी भूमिका निर्वाह गर्न निर्देशन दिनुभएकाे छ । उनले हिंसा, तोडफोड, आगजनी वा कानुनविपरीतका कुनै पनि गतिविधिमा संलग्न व्यक्तिलाई नेपाली कांग्रेसले कुनै पनि अवस्थामा संरक्षण नगर्ने स्पष्ट पार्दै यस्ता कार्यमा संलग्न पार्टी सदस्य वा कार्यकर्तालाई समेत पार्टीले क्षमा नगर्ने चेतावनी दिनुभयाे ।
सभापति थापाले निर्वाचनमा हार–जित लोकतान्त्रिक प्रक्रियाको स्वाभाविक पक्ष भएकाले वर्तमान परिस्थितिमा सरकारलाई शान्ति र सुव्यवस्था कायम गर्न सहयोग गर्नु सबै राजनीतिक दलको दायित्व भएको बताउनुभयाे। राष्ट्र, लोकतन्त्र, संविधान र सामाजिक सद्भावको रक्षा नेपाली कांग्रेसको ऐतिहासिक जिम्मेवारी रहेको उल्लेख गर्दै उहाँले दोषीमाथि निष्पक्ष र कडा कारबाही, घाइतेको प्रभावकारी उपचार तथा पीडितलाई न्याय दिलाउन सरकारसँग माग गर्नुभयाे ।
उहाँले देशमा उत्पन्न हुने हिंसा र द्वन्द्वलाई अन्त्य गर्दै राष्ट्रिय एकता, मेलमिलाप र सामाजिक सद्भाव कायम राख्ने ऐतिहासिक भूमिका नेपाली कांग्रेसले विगतदेखि निर्वाह गर्दै आएको उल्लेख गर्दै वर्तमान संवेदनशील अवस्थामा सबैलाई धैर्य, संयम र जिम्मेवारीका साथ प्रस्तुत हुन आग्रह गर्नुभयाे ।













प्रतिक्रिया दिनुहोस्