जनता टाइम्स

१५ श्रावण २०८३, शुक्रबार १५:०२

प्रधानमन्त्री बालेन शाहको स्पष्टोक्ति : सरकार संघीयताको पक्षमा छ, मधेसविरोधी होइन


काठमाडौं, साउन १५ । प्रधानमन्त्री बालेन शाहले आफू तथा सरकार संघीयताको पक्षमा रहेको स्पष्ट पार्दै सरकारलाई संघीयताविरोधी वा मधेसविरोधी रूपमा नबुझ्न आग्रह गर्नुभएको छ।

मधेसमा पछिल्ला दिनमा भएका हिंसात्मक घटनापछि शुक्रबार मधेस केन्द्रित राजनीतिक दलका नेताहरूसँग आयोजित छलफलमा प्रधानमन्त्री शाहले सरकारले प्रदेशलाई अझ सुदृढ र प्रभावकारी बनाउने उद्देश्यले संरचनागत सुधारको विषय उठाएको स्पष्ट पार्नुभएको बैठकमा सहभागी नेताहरूले जानकारी दिएका छन्।

प्रधानमन्त्री शाहले, “मलाई संघीयताविरोधी नसोच्नुहोस्, प्रदेशलाई बलियो बनाउने र संरचनामा आवश्यक सुधार गर्ने कुरा मात्र गरिएको हो। हाम्रो पार्टी संघीयताविरोधी होइन,” भन्नुभएको सहभागी नेताहरूले उद्धृत गरेका छन्. उहाँले आफ्नो कारणले संघीयतामाथि कुनै खतरा उत्पन्न हुने अवस्था नरहेको समेत स्पष्ट पार्नुभएको जनाइएको छ।

छलफलका क्रममा प्रधानमन्त्री शाहले हालसम्म भएका सबै सहमतिहरू इमानदारीपूर्वक कार्यान्वयन गर्ने तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको बताइएको छ। साथै, सुनसरी घटनाको छानबिन समितिको प्रतिवेदन प्राप्त भएपछि कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने विश्वास पनि उहाँले दिलाउनुभएको छ।

बैठकमा जनमत पार्टीका अध्यक्ष सिके राउतले नेपाली सेनामा मधेसी समुदायको सामूहिक प्रवेशका लागि अवसर सिर्जना गर्न सरकारसँग आग्रह गर्नुभएको थियो।

त्यसैगरी राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेसमा भएको घटनालाई साम्प्रदायिक दङ्गाको संज्ञा दिँदै समाजमा मानिस मानिसबाट डराउने अवस्था सिर्जना हुनु देशको हितमा नरहेको धारणा राख्नुभयो। उहाँले सामाजिक सद्भावलाई हरहालतमा कायम राख्न प्रधानमन्त्रीले प्रभावकारी पहल गर्नुपर्नेमा जोड दिनुभयो।

महतोले प्रधानमन्त्रीले केही दिनअघि नै राष्ट्रका नाममा सम्बोधन गरेको भए वर्तमान अवस्था सिर्जना नहुने दाबी गर्दै गृहमन्त्रीमार्फत भएको सहमतिलाई इमानदारीपूर्वक कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको बताइएको छ।