काठमाडौं, साउन १९ । विराटनगरस्थित प्रतिष्ठित व्यावसायिक घराना देवेनरा ग्रुपको घर तथा व्यावसायिक प्रतिष्ठानमा प्रहरीले गरेको छापाप्रति कोशी प्रदेशका प्रमुख व्यावसायिक संस्थाहरूले विरोध जनाएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश, नेपाल उद्योग परिसंघ कोशी, मोरङ उद्योग व्यापार संघ र उद्योग संगठन मोरङले संयुक्त विज्ञप्ति जारी गर्दै घटनाको निन्दा तथा भर्त्सना गरेका हुन्।
संयुक्त विज्ञप्तिमा प्रहरीलाई प्राप्त सूचनाका आधारमा गरिएको करिब पाँच घण्टाको छापाका क्रममा कुनै गैरकानुनी वस्तु वा प्रमाण फेला नपरेको उल्लेख गर्दै यसले प्रहरीको सूचना संयन्त्रको विश्वसनीयतामाथि नै गम्भीर प्रश्न उठाएको जनाइएको छ।
व्यावसायिक संस्थाहरूले अपुष्ट सूचनाका आधारमा उद्योगी–व्यवसायीलाई आतंकित पार्ने शैलीमा गरिएको छापाले निजी क्षेत्रलाई त्रसित बनाएको र सरकारको नीति तथा व्यवहारबीच तालमेल नभएको टिप्पणी गरेका छन्।
उनीहरूले उद्योग तथा वाणिज्य क्षेत्र देशको अर्थतन्त्रको मेरुदण्ड भएकाले यस क्षेत्रलाई शंकाको दृष्टिले होइन, सहकार्य, पारदर्शिता, कानुनी सुनिश्चितता र आपसी विश्वासको वातावरणमा अघि बढाउने नीति अवलम्बन गर्न सरकारसँग आग्रह गरेका छन्।













प्रतिक्रिया दिनुहोस्