जनता टाइम्स

२१ श्रावण २०८३, बिहीबार ०७:३९

हर्मुज जलमार्गमा सहमतिको संकेत, अमेरिका–इरानबीच मुख्य विवाद भने यथावत्


एजेन्सी। विश्वको सबैभन्दा महत्वपूर्ण तेल ढुवानी मार्ग हर्मुज जलमार्गको सञ्चालनलाई लिएर अमेरिका र इरानबीच अस्थायी सहमतिको सम्भावना देखिएको छ। यद्यपि, मुख्य विषयहरूमा दुवै पक्षबीच गम्भीर मतभेद कायम रहेकाले अन्तिम सम्झौता अझै टुंगोमा पुगेको छैन।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै साताभित्र सम्झौता हुन सक्ने दाबी गरेका छन्। उनले सहमति हुन नसके इरानविरुद्ध सैन्य कारबाहीको विकल्प खुला रहने चेतावनी पनि दिएका छन्।

यता, इरानले भने अमेरिकासँग प्रत्यक्ष वार्ता नभई ओमानको मध्यस्थतामा अस्थायी व्यवस्थाबारे मात्रै छलफल भइरहेको स्पष्ट पारेको छ। इरानी अधिकारीहरूले अमेरिकी दबाब र ट्रम्पको चेतावनीकै कारण वार्ता लम्बिएको आरोप लगाएका छन्।

यसैबीच, इरानले हर्मुज जलमार्गमा ‘नयाँ मध्य मार्ग’को अवधारणा अघि सारेको छ। प्रस्तावअनुसार समुद्री सुरक्षा, जलमार्ग व्यवस्थापन तथा सम्बन्धित सेवामा इरानलाई प्रमुख भूमिका दिनुपर्ने माग गरिएको छ। तर अमेरिकी विदेशमन्त्री मार्को रुबियोले कुनै पनि राष्ट्रले अन्तर्राष्ट्रिय जलमार्गमाथि नियन्त्रण कायम गर्नु अन्तर्राष्ट्रिय कानुनविपरीत हुने भन्दै त्यसले विश्वव्यापी रूपमा गलत नजिर स्थापित गर्न सक्ने चेतावनी दिएका छन्।

कतारसहित केही खाडी मुलुकहरूले वार्ता सकारात्मक दिशामा अघि बढिरहेको बताएका छन्। तर इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) को औपचारिक समर्थनबिना कुनै पनि सहमति कार्यान्वयनमा जान कठिन हुने विश्लेषण गरिएको छ।

विदेशी व्यापारिक जहाज तथा अमेरिकी नौसैनिक जहाजको आवागमन, जहाजमा रहेको कार्गोबारे इरानले पाउने जानकारीको सीमा र अमेरिकाले लगाएका प्रतिबन्धमा गरिने परिवर्तनजस्ता विषयमा अझै सहमति जुट्न बाँकी छ।

यसअघि हर्मुज जलमार्ग लगभग अवरुद्ध हुँदा दैनिक करिब एक करोड ५० लाख ब्यारेल कच्चा तेल विश्व बजारमा पुग्न सकेको थिएन। विश्वकै ठूलो तेल उत्पादक कम्पनी साउदी अराम्कोका अनुसार अहिले नै जलमार्ग पूर्ण रूपमा सञ्चालनमा आए पनि विश्व तेल भण्डार पूर्ववत् अवस्थामा फर्किन करिब १८ महिना लाग्न सक्छ।

विश्लेषकहरूका अनुसार सम्भावित सहमतिले अन्तर्राष्ट्रिय तेल बजार, ऊर्जा सुरक्षा तथा मध्यपूर्वको भूराजनीतिक अवस्थामाथि प्रत्यक्ष प्रभाव पार्नेछ।