काठमाडौं, साउन २१ । जल तथा मौसम विज्ञान विभागले आज देशका पाँच प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाउँदै नदी तटीय तथा पहिरोको जोखिम भएका क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
विभागका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेकाले देशका विभिन्न भूभागमा वर्षा भइरहेको छ। गएराति गण्डकी र लुम्बिनी प्रदेशका केही क्षेत्रमा मुसलधारे वर्षा भएको थियो।
पछिल्लो ६ घण्टामा कास्की, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, गुल्मी, गोरखा र पाल्पालगायत जिल्लामा मध्यमदेखि मुसलधारे वर्षा भएको विभागले जनाएको छ। काठमाडौं उपत्यकासहित देशका अन्य स्थानमा पनि हल्कादेखि मध्यम वर्षा भएको छ भने केही क्षेत्रमा वर्षा अझै जारी रहेको छ।
विभागका अनुसार आज बागमती, गण्डकी, कोशी, मधेश र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने सम्भावना छ। गण्डकी प्रदेशका पहाडी जिल्लामा साँझसम्म थप वर्षा हुने पूर्वानुमान रहेकाले नारायणी नदी आसपासका डुबान जोखिमयुक्त क्षेत्रका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।
यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा वा हिमपात हुन सक्ने पूर्वानुमान छ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी तथा तराई क्षेत्रका साथै मधेश प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ।
रातिको समयमा पनि हिमाली तथा पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा वा हिमपात तथा तराईका थोरै स्थानमा वर्षा हुन सक्नेछ। भोलि पनि बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना रहेकाले नदी किनार, डुबान र पहिरोको जोखिम भएका क्षेत्रमा आवश्यक सावधानी अपनाउन विभागले अनुरोध गरेको छ।














प्रतिक्रिया दिनुहोस्