काठमाडौं, साउन २१ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी सदस्यता प्रणालीलाई पूर्ण रूपमा डिजिटल बनाउने निर्णय गरेको छ।
पार्टीको ‘मिसन पार्टी जागरण’ अभियानअन्तर्गत बुधबार राजधानी प्रदेश कमिटीले पार्टी मुख्यालय च्यासलमा आयोजना गरेको सदस्यता सम्बन्धी कार्यशालामा पार्टी सचिव डा. राजन भट्टराईले सदस्यता प्रणालीलाई डिजिटल माध्यममा रूपान्तरण गरिने जानकारी दिनुभयो।
उहाँले जनतासँग पार्टीको सम्बन्ध थप सुदृढ बनाउने, संगठनलाई तल्लो तहसम्म प्रभावकारी रूपमा परिचालन गर्ने तथा सदस्यता व्यवस्थापनलाई व्यवस्थित बनाउन डिजिटल प्रणालीको अधिकतम उपयोग गरिने बताउनुभयो।
कार्यशालामा पार्टी नेतृत्वले वडा र पालिका तहसम्म नेता तथा कार्यकर्ताको राजनीतिक चेतना र क्षमता अभिवृद्धिका लागि नियमित प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने योजना पनि सार्वजनिक गरेको छ।
एमालेका सचिव भानुभक्त ढकालले पार्टी सदस्यता तथा अन्य दस्तावेजलाई प्राकृतिक विपद् र अन्य जोखिमबाट सुरक्षित राख्न, अभिलेख व्यवस्थापनलाई व्यवस्थित बनाउन तथा कामलाई छिटोछरितो बनाउन सदस्यता प्रणालीलाई डिजिटल बनाउने निर्णय गरिएको बताउनुभयो।














प्रतिक्रिया दिनुहोस्