जनता टाइम्स

२१ श्रावण २०८३, बिहीबार ११:२२

खेतदेखि बजारसम्मको यात्रा : सिन्धुलीको दुधाैलीमा दुई युवा प्राविधिकले जगाएको अकबरे खुर्सानीको सपना


सिन्धुली, साउन २१ । बिहानको घामसँगै दुधौलीका खेतबारीमा किसानको चहलपहल सुरु हुन्छ। हरियालीका बीच राताम्मे हुँदै गरेका अकबरे खुर्सानीका बोटहरू हेर्दा धेरैको अनुहारमा मुस्कान झल्किन्छ। त्यो मुस्कानको पछाडि छन्-दुई युवा कृषि प्राविधिक, दिनेश बुढाथोकी र आशिष अधिकारी।

उनीहरूको दैनिकी कार्यालयको चार पर्खालभित्र सीमित छैन। खेतबारीमै पुगेर किसानसँगै पसिना बगाउनु, बोटबिरुवाको अवस्था नियाल्नु, रोग–कीरा नियन्त्रणदेखि उत्पादन बढाउने उपाय सिकाउनु र अन्ततः उत्पादित खुर्सानीको बजार खोज्नु नै उनीहरूको मुख्य जिम्मेवारी बनेको छ।

विगतमा बजारको अनिश्चितताका कारण धेरै किसान व्यावसायिक खेती गर्न हिचकिचाउँथे। मेहनत गरेर उत्पादन गरे पनि उचित मूल्य पाइँदैन कि भन्ने चिन्ताले उनीहरूलाई सताइरहन्थ्यो। यही चुनौतीलाई अवसरमा बदल्ने लक्ष्यका साथ दिनेश र आशिषले उत्पादनसँगै बजार व्यवस्थापनमा पनि उत्तिकै ध्यान दिए। उनीहरूको विश्वास स्पष्ट छ-“उत्पादन सफल तब मात्र हुन्छ, जब किसानले आफ्नो पसिनाको उचित मूल्य पाउँछन्।”

यसै सोचअनुसार उनीहरूले व्यापारीसँग समन्वय गर्दै दुधौलीका किसानले उत्पादन गरेको अकबरे खुर्सानीलाई बजारसम्म पुर्‍याउने वातावरण तयार गरे। त्यसको प्रत्यक्ष लाभ अहिले किसानले महसुस गर्न थालेका छन्। कालीमाटी तरकारी बजारमा प्रतिकिलो १५० रुपैयाँ मूल्य रहेको अकबरे खुर्सानीको दुधौलीका किसानले आफ्नै घरबाट प्रतिकिलो १३० रुपैयाँसम्म मूल्य पाउन थालेका छन्। यसले ढुवानीको झन्झट घटाएको छ भने किसानको आम्दानी पनि बढाएको छ।

उचित मूल्य पाउन थालेपछि दुधौलीका धेरै किसानमा अकबरे खुर्सानी खेतीप्रतिको विश्वास बलियो बन्दै गएको छ। पहिले सीमित क्षेत्रफलमा खेती गर्ने किसानले बिस्तारै उत्पादन बढाउन थालेका छन् भने नयाँ किसान पनि यस व्यवसायमा आकर्षित भइरहेका छन्।

दुधौली नगरपालिकाका कार्यवाहक नगरप्रमुख चन्द्रकिशोर थारुले पनि यी दुई प्राविधिकको समर्पण र कृषकप्रतिको सेवाभावको खुलेर प्रशंसा गर्नुभयो। स्थानीय कृषकहरूका अनुसार प्राविधिकको नियमित साथ र बजारको सुनिश्चितताले खेतीलाई जोखिमभन्दा अवसरका रूपमा हेर्न सकिने वातावरण बनेको छ।

दुधौलीमा अहिले अकबरे खुर्सानी केवल एउटा कृषि बाली मात्र होइन, गाउँमै बसेर मेहनत, ज्ञान र सही व्यवस्थापनका माध्यमबाट आत्मनिर्भर बन्न सकिने सम्भावनाको प्रतीक बनेको छ। दिनेश बुढाथोकी र आशिष अधिकारीको अथक प्रयासले देखाएको यो उदाहरणले एउटा सन्देश स्पष्ट दिएको छ-कृषिमा प्रविधि, समर्पण र बजार व्यवस्थापन जोडिन सके किसानको पसिनाले सफलता र समृद्धिको कथा लेख्न सक्छ।